जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ



चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान् स्व श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।

विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुन्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरू नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुईँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछन् ।

‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गर्थे । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।

घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।’ गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको हो ।

‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यति बेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’ बीपी कति पटक घरमा आउनुभयो गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।’

सादा खाना बीपी बाबुले खाने गरेको प्रधान बताउँछिन् । उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ— बीपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन् । साँझ बीपी भन्थे, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।’ बीपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने बीपीको स्वभाव थियो ।

प्रधानले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेऊ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।’ बीपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् । उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरूले पनि दिए ।’

बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।’ साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । बीपीजस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो रु’

ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनले अहिले पनि ताजै छ ।

गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ । बीपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डओभर गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छन् । गाडी पछिपछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्यो ।

बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।’ आफ्नो घरमा बीपी आउँदा घर वरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ । उनले भने, ‘म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।’ सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, ‘सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।’


क्लिकमान्डु