अब बैंकमा जागिर खान ‘लाइसेन्स’ अनिवार्य



काठमाडौं । अब बैंकमा जागिर खान पनि लाइसेन्स अनिवार्य हुने भएको छ । अनिवार्य लाइसेन्स लिने व्यवस्था चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, शिक्षकका क्षेत्रमा लागू भए पनि अन्य क्षेत्रमा भने सम्बन्धित कम्पनीले कर्मचारी भर्ना गर्दै आएका छन् । बैंकहरुले पनि अहिलेसम्म कर्मचारी विनियमावलीअनुकूल कर्मचारी भर्ना गर्दै आएका छन्।

तर, अब भने बैंकमा जागिर खान पनि पहिला लाइसेन्सको परीक्षा पास गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिनेछ । नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्स पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिनेछ।’

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिको १०५ नम्बर बुँदा हो यो । यसको अर्थ राष्ट्र बैंकले बैंकको जागिर खान प्रवेश परीक्षा पूरा गरेकालाई प्राथमिकता दिन लागेको हो । आखिर राष्ट्र बैंकले बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्स गर्नुपर्ने आवश्यकता किन महशुस गर्यो त ?

नेपालको बैंकिङ क्षेत्रको दायरा फराकिलो र बृहत् बन्दै जाँदा त्यहाँ कार्यरत कर्मचारी पनि योग्य हुनुपर्छ मन्ने मान्यताबाट काम थालिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । बैंकिङ प्रणालीको स्थायित्वका लागि जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरी आवश्यक विधि निर्माण गर्ने राष्ट्र बैंकको तयारी छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बैंकिङ क्षेत्रलाई थप प्रतिस्पर्धी रसबल बनाउन प्रवेश परीक्षा अनिवार्य गर्न लागिएको बताउँछन् ।

‘बैंकिङ क्षेत्र चुनौतीपूर्ण बन्दै गएको अवस्थामा नियामकले दूरदर्शी भएर हेर्नुपर्छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘हामीले अहिल्यैदेखि त्यसमा काम थालेका हौं ।’

बैंकमा आउन चाहने जनशक्ति लगानीका क्षेत्र, सीमा, चुनौतीलगायतका विषयमा प्रस्ट हुनुपर्ने भएकाले तालिम तथा प्रशिक्षणमार्फत योग्य बनाउनुपर्ने आवश्यकता महसुस भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

‘विभिन्न क्षेत्रहरुमा सेवा प्रवेशका लागि विभिन्न बेन्चमार्क भएको अवस्थामा बैंकिङजस्तो अत्यन्तै महत्वपूर्ण क्षेत्रमा पनि सेवा प्रवेशको बेन्चमार्क जरुरी छ,’ उनले भने, ‘त्यसलाई मनन गर्दै अध्ययन प्रक्रिया अघि बढाइएको हो ।’

सेवा प्रवेशका साथै सेवारत जनशक्तिको वृत्ति विकासमा पनि राष्ट्र बैंकले बेन्चमार्क बनाउन पहल गरेको छ । कर्मचारीको बढुवा या पदोन्नतिमा पनि सर्टिफिकेसन कोर्स पूरा गरेलाई प्राथमिकता दिने गरी पद्दति निर्माण गर्ने राष्ट्र बैंकको तयारी रहेको उनले बताए ।

बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा पास गरेकालाई प्राथमिकता दिने विषयलाई बैंकरहरुले उत्साहजनक ढंगले लिएका छन्। बैंकिङ सेवामा सिधै आउँदाभन्दा तालिम लिएर आउँदा संस्थालाई नै धेरै सहज हुने उनीहरुको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी अध्ययन सक्नेबित्तिकै फ्रेस आउनेभन्दा बैंकिङ सेवासम्बन्धी निश्चित ज्ञान हासिल गरेर आउनेबाट संस्थाले छिटो लाभ लिन सक्ने बताउँछन् ।

‘अहिले बैंकिङ क्षेत्र जुनस्तरमा बढिरहेको छ, जुन तहमा विस्तार भइरहेको छ, त्यसका लागि जनशक्ति छनोट पनि सही हुन जरुरी छ,’ उनले क्लिकमान्डुसँग भने, ‘सिधै आउँदा भन्दा सीपसहित आउँदा धेरै फरक पर्छ भनेरै राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत यो व्यवस्था गर्न लागेको हुनुपर्छ ।’

विदेशमा पनि यस्तो अभ्यास रहेको उनले बताए । ‘नेपालमा विदेशी बैंक पनि आउन सक्ने तथा नेपाली बैंकहरु विदेशमा जानसक्ने सम्भावनाका बीच हाम्रा जनशक्ति पनि सक्षम र योग्य हुनुपर्छ,’ केसीले भने, ‘त्यसका लागि राष्ट्र बैंक र बैंकहरुसमेत मिलेर खोलेको संस्थालाई उपयोग गरेर जाँदा राम्रो हुन्छ भन्ने विषयमा छलफल पनि भएको थियो ।’

बैंकिङ क्षेत्रमा विश्वभर नै ठूलो परिवर्तन आएको र परिवर्तनको त्यो वहावसँगै अघि बढ्न पनि दक्ष र क्षमतावान जनशक्ति आवश्यक पर्ने उनले बताए । प्रविधिको तीव्र विकाससँग बैंकिङ क्षेत्र पनि डिजिटाइज हुँदै गएको र यस्तो अवस्थामा गुणस्तरीय जनशक्तिले मात्रै उत्पादकत्व बढाउन सक्ने उनको तर्क छ ।

‘बैंकमा काम गर्ने मान्छे धेरै हिसाबले जिम्मेवार हुनुपर्छ, ग्राहकसँग गर्ने व्यवहारदेखि लिएर ग्राहकका व्यवहार बुझ्नेसम्म हुनुपर्छ, दक्ष जनशक्तिले मात्र त्यो भूमिका राम्रोसँग निर्वाह गर्न सक्छ,’ केसी भन्छन्, ‘बैंकिङ क्षेत्र जोखिमपूर्ण पनि छ, बलियो जनशक्ति भए मात्र जोखिम पनि कम हुन्छ ।’

वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्स पूरा गरेकालाई प्राथमिकता दिने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए। बैंकमा जागिर खाइरहेको व्यक्तिलाई पनि सर्टिफिकेसन कोर्स गराउँदा माथिल्लो तहमा जाने कर्मचारी थप योग्य हुने केसीले स्पष्ट पारे ।

‘नयाँ कर्मचारी लिँदा योग्य लिन जति जरुरी छ,’ केसीले भने, ‘पदोन्नतिका लागि कर्मचारीलाई अब्बल बनाउन उति नै जरुरी छ ।’

बैंकमा जागिर खानेहरुलाई योग्यता परीक्षा लिने भन्ने यसको कन्सेप्ट भएको नेसनल बैंकिङ इन्स्टिच्युटका एड्मिस्ट्रेसन एन्ड एकेडेमिक डाइरेक्टर प्रमोद बोहोरा बताउँछन् ।

‘अहिले बैंकहरुले आफ्नै किसिमले कर्मचारी भर्ना गरिरहेका छन्, यो नीति कार्यान्वयनमा आएपछि योग्यता परीक्षामा पास भएकाहरु मात्रै बैंकको जागिरमा आवेदन दिन योग्य हुनेछन् भन्ने हाम्रो बुझाइ हो,’ उनले भने, ‘बैंकमा आवेदन दिनुभन्दा अगाडि नै योग्यता परीक्षामार्फत परीक्षार्थीलाई आधाारभूत बैंकिङ तालिम पनि दिइनेछ ।’

राष्ट्र बैंकको थप सर्कुलर आएपछि मात्रै यसमा काम अघि बढ्ने उनले जानकारी दिए । अहिले बैंकिङ क्षेत्रमा ५० हजारको हाराहारीमा जागिरे छन् । बैंकको जागिरलाई आकर्षक पनि मानिन्छ ।


क्लिकमान्डु