प्रभावशाली विश्वनेताहरू नयाँ दिल्लीमा भेला हुँदै



एजेन्सी । भोलि शनिबार र पर्सि आइतबार भारतको राजधानी नयाँ दिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी-२० शिखर सम्मेलनमा भाग लिन विश्व शक्तिराष्ट्रका नेताहरू नयाँ दिल्लीमा भेला भइरहेका छन् ।

पन्ध्र वर्षअघिको आर्थिक संकटका बेला विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा संगठनका रुपमा स्थापना भएको जी-२० को नयाँ दिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइरहेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने शिखर सम्मेलनमा कुनै मूल मुद्दामा सहमति जुट्नेमा भने आशंका व्यक्त गरिएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा साझा दस्तावेज तयार गर्ने तथा सहमति जुटाउन भारतलाई धौ-धौ परेको छ । शीर्ष नेतृत्वले अनुमोदन एवं हस्ताक्षर गरी सम्मेलनको अन्त्यमा जारी गर्ने संयुक्त वक्तव्यमा अझै ठोस सहमति जुट्न सकेको छैन । 

चीनका राष्ट्रपतिको अनुपस्थितिको कारण खुलाइएको छैन । अमेरिकी नेतृत्वको यो समूहलाई असफल पार्दै जी-२० स्थानमा आफू अनुकूल अर्को संस्था बनाउने आशय बेइजिङले व्यक्त गर्दै आएको छ । जी-२० शिखर सम्मेलनका बेला चिनियाँ नेता सी भेनेजुएला र जाम्बियाका राष्ट्रपतिको स्वागतमा व्यस्त छन् ।

युक्रेनमाथि हठात् आक्रमण गरेर युद्ध अपराधको आक्षेप खेपिरहेका रुसका राष्ट्रपतिको अन्तर्राष्ट्रियस्तरमा निन्दा र कूटनीतिक भर्त्सना भइरहेको छ । उनले भने आफ्ना सहयोगीका साथमा युक्रेन युद्ध आवश्यक एवं औचित्यपूर्ण भएको दाबी गर्दै आएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी-२० शिखर सम्मेलनमा फेरि पनि रुसी राष्ट्रपतिले अनुहार देखाउन नचाहेको बताउँछन् । आफ्नो कूटनीतिक बहिर्गमन र राष्ट्रपति भवनको एकान्तमा बस्नुपर्ने परिस्थितिको निर्माण पुटिन स्वयंले गरेको प्रधानमन्त्री सुनकले बताए ।

जी-२० का अन्य नेताहरूले भने सम्मेलनमा आफूहरू उपस्थित भएर रुसी नेता पुटिनले निम्त्याएको विनाशको क्षतिपूर्तिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिखर सम्मेलनमा भाग लिन एयरफोर्स वानमा देश छाडिसकेका अमेरिकी राष्ट्रपति जो बाइडेनले जी-२० ले अझै विश्व अर्थव्यवस्थामा योगदान गर्नसक्ने बताए ।

यसैबीच, चीनले अमेरिकी कम्पनी आइफोनको उत्पादन आइफोनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको अफवाह फैलिरहेको छ । एप्पलको आइफोनलाई संसारभर मान्यता दिइएको छ । राष्ट्रपतिका साथ एयरफोर्स वानमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ती अफवाहमा कुनै सत्यता नरहेको बताएका छन् ।

जी-२० ले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ ।

जी-२० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली संघ सदस्य छन् ।


क्लिकमान्डु