बाइडेनको भ्रमणको संघारमा भारतले हटायो अमेरिकी सामानमाथिको कर



काठमाडौं । सन् २०१९ बाट झन्डै १२० प्रतिशतसम्मले भारतले लगाएको अमेरिकी सामानमाथिको आयात कर हटेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन आउनुअघि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

भारत सरकारले अमेरिकाबाट आयात हुने बदाम, स्याउ, ओखर, दालजस्ता सामानमा लाग्ने आयात कर हटाएको हो । भारतको वित्त मन्त्रालयले विज्ञप्ति जारी गर्दै कर हटाइएको जानकारी दिएको छ ।

सन् २०१९ जुनमा भारत सरकारले अमेरिकाबाट आयात हुने ओखरमा लाग्ने कर ३० प्रतिशतबाट बढाएर १२० प्रतिशत बनाएको थियो । त्यस्तै, मुसुरीको दालमा ३० प्रतिशत रहेको कर पनि बढाएर ७० प्रतिशत बनाएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेन ‘जि २०’ सम्मेलनका लागि शुक्रबार भारत आउँदै छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने बताएका छन् ।

गत जुनमा मोदीले आफ्नो अमेरिकी यात्राका क्रममा विश्व व्यापार संगठनसँगको छलफलमा विभिन्न ६ विवादहरुको अन्त्य गर्ने र अमेरिकी उत्पादनमाथि लगाइएको आयात कर हटाउने निर्णय भएको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।

मोदी सरकारले भारतमा बाइडेनको भ्रमणको संघारमा उनलाई रिझाउनकै लागि अमेरिकी उत्पादनमाथि लगाएको करलाई कम गरेको बताइएको छ ।


रवि धिताल