टाटाको ‘नेक्सन इभी’को नयाँ संस्करण सार्वजनिक, पूर्ण चार्जमा ४६५ किमिको रेन्ज



एजेन्सी । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो सबैभन्दा चर्चित गाडी नेक्सन ईभीको नयाँ संस्करण सार्वजनिक गरेको छ ।

टाटाले ‘नेक्सन ईभी’को नयाँ संस्करण सार्वजनिक गरेको हो । नयाँ विद्युतीय एसयुभि पूर्ण चार्जमा ४६५ किमिसम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ ।

सार्वजनिक गरिएको नयाँ संस्करणमा नेक्सन ईभीको बाहिरी आवरण (एक्सटेरियर) र इन्टेरियस दुवैको डिजाइनलाई परिवर्तन गरिएको छ । सँगै कारमा नयाँ रंग संयोजनको पनि सुविधा दिइएको छ । नयाँ संस्करणमा यो सेग्मेन्टका गाडीहरुमध्येमा नयाँ कम्फर्ट (सहजता) र सेफ्टी (सुरक्षा)को फिचर पनि राखिएको छ ।

टाटा नेक्सन ईभी भारतसँगै नेपालमा पनि निकै चर्चित गाडी हो । भारतीय बजारमा सबैभन्दा बढी बिक्ने विद्युतीय एसयुभिमा टाटा नेक्सन पर्छ । कम्पनीले भारतीय बजारका लागि यसको बुकिङ ८ सेप्टेम्बरबाट सुरु गर्ने जनाएको छ । गाडीलाई ६ दिनपछि अर्थात् १४ सेप्टेम्बरमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । गाडीको मूल्य कति पर्छ भन्ने कुरा भने हाल सार्वजनिक गरिएको छैन ।

नेक्सन ईभीको नयाँ संस्करण पेट्रोल तथा डिजेल भर्जनजस्तै देखिएपछि यसको अगाडि र पछाडिको आवरणलाई भने पूर्णरुपमा परिवर्तन गरिएको छ । गाडीको अगाडिको भागमा एलईडी डीआरएलएस स्प्लिट हेडल्यान्डको सेटअप राखिएको छ । नयाँ डिजाइनका साथ रहेको यो हेडल्याप्ले गाडीलाई थप स्पोर्टी लुक्स दिएको छ ।

गाडीको भित्री पक्षमा भने ठूलो परिवर्तन क्याबिनमा गरिएको छ । नयाँ नेक्सन इभीमा दुई वटा स्पोक, फ्ल्याट बटम स्टेयरिङ ह्वीललाई समावेश गरिएको छ । गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि राखिएको छ ।

गाडी टप स्पिड १५० किमी प्रतिघण्टा छ, जुन पुरानो मोडलको तुलनामा ३० किमी धेरै हो । गाडीमा शून्यदेखि सय किमीको स्पिड प्रतिघण्टामा पुग्न केवल ८.९ सेकेन्ड लाग्ने कम्पनीले दाबी गरेको छ ।

विभिन्न भेरियन्टमध्येमा न्यु जेनेरेसन टाटा नेक्सन इभीमा ३० किलोवाटको ब्याट्री प्याक रहेको छ । यसले पूरा चार्जमा ३२५ किमीको रेन्ज दिने कम्पनीले जनाएको छ, जुन पुरानो संस्करणभन्दा १३ किमी धेरै हो ।

त्यस्तै, लामो दूरीको भेरियन्ट (लंग रेन्ज भेरियन्ट)मा ४०.५ किलोवाटको ब्याट्री प्याक छ । यसले भने पूरा चार्जमा ४६५ किमी रेन्ज दिने कम्पनीको दाबी छ, जुन यसअघिको संस्करणभन्दा १२ किमी धेरै हो ।

गाडीलाई चार्ज गर्न ७.२ किलोवाट घण्टाको चार्जिङ सपोर्ट दिइएको छ । फास्ट चार्जरबाट भने ५६ मिनेटमा नै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म गाडी चार्ज हुने कम्पनीले जनाएको छ ।


रवि धिताल