चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी



काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सहमति भएको छ ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने उद्देश्यका साथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट व्यापारमा नयाँ अध्याय सुरू गरेका हुन् । मूलत: नेपालसँग जोडिएका भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले समझदारी गरिएको हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले यो सहमति दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । ‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल-भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ,’ उनले भने ।

नेपालमा भएको सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समूहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेको रुपमा लिइएको छ । सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले व्यावसायिक सहकार्य गर्ने अवसरका लागि अदानी समूहलाई धन्यवाद दिएका छन् । अदानी ग्रुपका अध्यक्ष गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेलेकोमा उनले आभार व्यक्त गरे ।

हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा गम्भीर दुर्घटनामा परेका थिए । त्यसबेला गौतम अदानीले गरेको सहयोगले ठूलो महत्व राखेको पनि उनले स्मरण गरे । अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास दुवै पक्षको छ ।

चौधरी ग्रुप दशकौंदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल इस्टेट, फाइनान्सलगायतका क्षेत्रमा बलियो उपस्थितिका साथ चौधरी ग्रुप नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहँदै आएको छ ।

चौधरी समूहको लगानी रहेको सम्राट सिमेन्टले भारतमा क्लिंकर निकासी गर्दै आएको छ । चौधरी समूहको पाल्पामा सिमेन्ट उद्योग छ भने नवलपरासीको दुम्कीबासमा सीजी सिमेन्टको ग्राइन्डिङ युनिट छ । समूहले सीजी ब्रान्डमा सिमेन्ट बिक्री गर्दै आएको छ ।

अदानीको भारतमा अम्बुजा र एसीसी सिमेन्ट उद्योग छन् । यी दुवै उद्योग भारतका ठूला सिमेन्ट उद्योगमा पर्छन् । भारतमा अदानीका १४ वटा एकीकृत युनिट, ७९ वटा कंक्रिट प्लान्ट र ७८ हजार डिलर छन् ।


रवि धिताल