१ करोडसम्मको मूल्य अभिवृद्धि कर लाग्ने करदातालाई चार-चार महिनामा विवरण पेश गर्ने सुविधा



काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक रुपमा एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने करदातालाई अब चौमासिक रुपमा विवरण दाखिला गर्न सुविधा दिएको छ ।

विभागले सूचना निकाल्दै वार्षिक एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चार चार महिनामा विवरण पेश गर्न पाउने गरि यो सुविधा दिइएको जनाएको छ । कर सहभागिता लागत र समय घटाइ साना करदातालाई सुविधा दिन आव २०७९/०८० को मूल्य अभिवृद्धि कर दाखिला गर्न र त्यसपछिको विवरण चौमासिक रुपमा दाखिला गर्न पाउने विभागले जनाएको छ ।

वार्षिक एक करोडसम्मको मूल्य अभिवृद्धि कर लाग्ने करदाताहरुको कर अवधि २०८० साउनदेखि मासिकबाट चौमासिक अर्थात चार चार महिनाको कायम गरिएको विभागले जनाएको छ ।

मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदाताले २०८० साउनदेखि हरेक चार महिना अर्थात साउन, भदौ, असोज र कात्तिकको विवरण मंसिर २५ गतेसम्म दाखिला गर्न सक्ने विभागले जनाएको छ ।

त्यस्तै, मंसीर, पुस, माघ र फागुनको विवरण चैत २५ गते र चैत, वैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेश गर्ने सुविधा प्रदान गरिएको विभागले जनाएको छ ।

वार्षिक एक करोडभन्दा धेरै रुपैयाँको मूल्य अभिबृद्धि कर दाखिला गर्ने करदाताले मासिक कर विवरण दाखिला गर्न चाहेमा सम्बन्धित राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा आगामी १५ दिनभित्र जानकारी दिन समेत विभागले सूचित गराएको छ ।


क्लिकमान्डु