कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले उनलाई पदमुक्त हुने आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले थापालाई पदमुक्त हुने आदेशसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । कार्कीलाई आगामी ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

थापा गत साउन १६ मा कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए । भदौ ४ गते विश्वासको मत लिने क्रममा उनले प्रदेश सभा बैठकमा अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएपछि उनी विवादमा परेका थिए । एमालेका संसदीय दलका नेता कार्कीले यो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गराएका थिए ।

कार्कीले दायर गरेको मुद्दामा न्यायाधीशह सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले अन्सारीले दिएको मतलाई संविधानसम्मत मान्न नमिल्ने ठहर गरेको छ । अदालतले विश्वासको मत बदर गर्दै थापालाई पदमुक्त गरेको हो ।

सँगै अदालतले संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा प्रदेशसभामा सबैभन्दा भन्दा सदस्यहरु भएको संसदीय दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने परमादेश पनि जारी गरेको छ । कोशी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका कार्की मुख्यमन्त्री हुनेछन् ।


रवि धिताल