सहमहामन्त्रीमाथिको सांघातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भयोः थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन् ।

सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै उनले थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गरे ।

के काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भन्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरे । कोही जलाई दिन्छु भन्ने र कोही खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाडौंमा आफूहरु एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो छ ।

नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

महामन्त्री थापाले ५ वर्षीया बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको घटनाको छानबिन गरी तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए ।


रवि धिताल