कृषिमा मेसिनको प्रयोग बढ्यो



काठमाडौं । नेपालको कृषि क्षेत्रमा मेसिनरी उपकरणको प्रयोग बढ्दै गएको छ । पछिल्लो १० बर्षको अवधीमा कृषि यन्त्रको प्रयोग बढेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले बिहिबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ ले यस्तो तथ्य बाहिर ल्याएको हो ।

हिँजोसम्म परम्परागत रुपमा खेतीपाती गर्दै आएका किसानहरु अहिले आधुनिक कृषि यन्त्रको सहयोगमा गर्न लागेको यो तथ्यले पुष्टि गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६८ को तुलनामा झण्डै दोब्बर किसान परिबारले कृषि यन्त्रको प्रयोग गरेको पाइएको छ ।

पछिल्लो पटकको तथ्यांकअनुसार कृषिकर्म गर्न १६ लाख ३९ हजार किसानले ट्रयाक्टरको प्रयोग गरेको पाइएको छ । अघिल्लो पटक २०६८ मा सम्पन्न भएको कृषि गणनाअनुसार उक्त वेला ८ लाख ४५ हजार किसानले मात्रै ट्रयाक्टरको सहयोगमा कृषि कर्म गरेका थिए ।

यस्तै पछिल्लो पटकको तथ्यांकअनुसार जग्गा जोत्न किसानसँग ५८ लाख ट्रयाक्टर रहेको उल्लेख छ । २०६८ मा भने यस्तो ट्रयाक्टरको संख्या ३७ हजार थियो ।

यसैगरी कृषिकर्ममा पावर टिलर प्रयोग गर्ने किसानको संख्या ४ लाख ७१ हजार पुगेको छ । कृषि उपकरणमा आकर्षण भएका किसानको स्वामित्वमा भएको पावर लिटरको संख्या १ लाख १८ हजार पुगेको छ । अघिल्लो पटकको गणनाअनुसार देशभरका किसानमध्ये ७६ हजार किसानले पावर टिलर प्रयोग गरेको पाइएको थियो । त्यो वेला उनीहरुको स्वामित्वमा १० हजार गोटा पावर टिलर थियो ।

यस्तै पछिल्लो पटकको तथ्यांकअनुसार बाली झाँट्ने थे्रसरको प्रयोग गर्ने किसानको संख्या ११ लाख ७५ हजार थियो । यस्तै किसानको स्वामित्वमा १ लाख १५ हजार थ्रेसर मेसिन रहेको फेला परेको छ ।

२०६८ को तथ्यांकअनुसार त्यो वेला थे्रसर प्रयोग गर्ने किसानको संख्या ८ लाख ३ हजार थियो । यस्तै किसानको स्वामित्वमा ५२ हजार गोटा यस्ता औजार थियो ।


क्लिकमान्डु