साउनमा १ अर्ब ८२ करोडको सुन आयात, गत वर्षको साउनमा भन्दा २९ प्रतिशत कम



काठमाडौं । साउनमा १ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबराबरको सुन आयात भएको छ । गत वर्षको साउनको तुलनामा सुन आयात २९ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँबराबरको सुन भित्रिएको थियो ।

विगतमा दैनिक २० किलो सुन आयात हुँदै आएकोमा अहिले १० किलोमा झारिएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति बढाउन विलासिताका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा सुन आयातको हिस्सा पनि घटाएको हो । २०७८ फागुन २१ सम्म दैनिक २० किलो सुन आयात भइरहेकोमा फागुन २२ देखि १० किलोमा झारिएको छ ।

आयात परिमाणमा कमी भए पनि मूल्यमा भएको उच्च वृद्धिका कारण वर्षभरमा सुनका लागि बाहिरिने विदेशी मुद्रा भने बढेको छ । गत वर्षभरमा ४३ अर्ब ८९ करोड ९८ लाख रुपैयाँभन्दा बढी मूल्यको सुन आयात भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ । जबकि, प्रतिदिन २० किलो सुविधा हुँदा अघिल्लो वर्ष ३४ अर्बको सुन आयात भएको थियो ।


क्लिकमान्डु