श्री स्टिल्सको व्यापार घट्यो, सवा ३ अर्ब कर्जा लिँदै



काठमाडौं । श्री स्टिल्स प्रालिको व्यापारमा कमी आएको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा २०२२ मा कमी आएको हो । २०२० पछि २०२१ मा व्यापारमा उच्च वृद्धि गरेको कम्पनीको व्यापारमा २०२२ मा भने केही कमी आएको हो ।

२०२० मा कम्पनीले ३ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२१ मा कम्पनीको व्यापारमा उछाल आउँदै ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार भएको थियो ।

२०२२ मा भने कम्पनीको व्यापारमा १ अर्बले कमी आएको छ । कम्पनीले २०२२ मा ६ अर्ब १३ करोड ८० हजार रुपैयाँको व्यापार गरेको छ ।

२०२३ को पहिलो ६ महिनामा भने कम्पनीले अघिल्लो वर्षको व्यापारको ५० प्रतिशत व्यापार गरेको छ । पहिलो ६ महिनामा कम्पनीको व्यापार ३ अर्ब २ करोड ४० लाखको भएको छ ।

२०१६ मा सुरु भएको श्री स्टिल्स प्रालि नेपाली स्टिल उत्पादनको क्षेत्रमा नयाँ नाम हो । सिद्धार्थ ग्रुप, केडिया ग्रुप र मुरारका ग्रुपको संयुक्त लगानी रहेको यो कम्पनीले स्टिलका उत्पादनहरु गर्ने गरेको छ । कम्पनीको उत्पादन कारखाना रुपन्देहीको रोहिनी–४ मा रहेको छ । कम्पनीमा सिद्धार्थको ५० र अन्य दुई ग्रुपको २५/२५ प्रतिशत स्वामित्व रहेको छ ।

हाल कम्पनीले ३ अर्ब १४ करोड ५ लाख रुपैयाँको कर्जा लिनका लागि रेटिंग गराएको छ । इक्रा नेपालले कम्पनीलाई १ अर्ब १४ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबि प्लस रेटिंग दिएको छ भने २ अर्ब रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।


क्लिकमान्डु