आर्थिक मन्दीकाबीच भारतीय अर्बपतिको सम्पत्ति १३३ प्रतिशतले बढ्यो



काठमाडौं । विश्वभर चलिरहेको आर्थिक संकट, महँगी र ब्याजदरमा भइरहेको वृद्धिबीच भारतीय उद्योगपतिहरुको सम्पत्ति १३३ प्रतिशतसम्म्ले वृद्धि भएको छ ।

दुनियाँभरमा अन्य देशहरुमा आर्थिक अवस्था संकटमा भइरहदा हाल भारतमा मात्रै आर्थिक वृद्धि केही सहज देखिएको छ । यसबीच भारतीय अर्बपति तथा व्यापारीहरुको सम्पत्तिमा १३३ प्रतिशतसम्मको वृद्धि देखिएको एक अध्ययनले देखाएको छ ।

फर्च्युन इण्डिया रिपोर्टअनुसार भारतका १५७ अर्बपति उद्योगीहरुको हालको समपत्ति गत वर्षको तुलनामा १३३ प्रतिशतले वृद्धि भएको हो । उक्त रिपोर्टकाअनुसार गत वर्ष अर्थात २०२२ को तुलनामा उनीहरुको सम्पत्तिमा व्यक्तिगत रुपमा वृद्धि तथा गिरावट देखिएको छ ।

रिपोर्टमा सामेल भएका अर्बपति उद्योगीहरुको कुल सम्पत्ति १ हजार १०९ खर्ब ९२ अर्ब नेपाली रुपैयाँ (६९.३० लाख करोड भारु) रहेको छ ।

भारतका शीर्ष उद्योगपति तथा अर्बपति मुकेश अम्बानीको सम्पत्तिमा २०२२ को तुलनामा ९ प्रतिशतको वृद्धि भएको छ । उक्त रिपोर्टकाअनुसार रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष अम्बानीको सम्पत्ति ८.१९ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । उनको सम्पत्तिमा एक वर्षमा करिब ६५ हजार करोड भारतीय रुपैयाँको वृद्धि देखिएको छ ।

त्यस्तै, कतिपय भारतीय व्यापारीहरुको सम्पत्तिमा ५० प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ । ए. कृष्णमुर्तिको सम्पत्ति २०२२ को तुलनामा १३२.७१ प्रतिशतले वृद्धि भएर २२ हजार ६५९ करोड भारतीय रुपैयाँ पुगेको छ । त्यस्तै, निखिल कामथको सम्पत्ति १२१.९४ प्रतिशतले वृद्धि भएर २०२३ मा ३१ हजार ३६० करोड भारतीय रुपैयाँ पुगेको छ ।

भारतीय उद्योगी अर्बपति बजरंगलाल तापडियाको सम्पत्तिमा ७६.०६ प्रतिशतको वृद्धि देखिएको छ । २०२२ मा ११ हजार ५९ करोड भारतीय रुपैयाँ रहेको उनको सम्पत्ति २०२३ मा वृद्धि भएर २० हजार ८७ करोड भारतीय रुपैयाँ पुगेको छ ।

त्यस्तै, मंगल प्रभात लोढाको सम्पत्तिमा ७३.९३ प्रतिशतको वृद्धि भएर ५१ हजार ३१६ करोड भारतीय रुपैयाँ पुगेको छ । अर्का भारतीय उद्योगी अर्बपति साइरस पूनावालाको सम्पत्तिमा ६६.२४ प्रतिशतले वृद्धि भएर २०२३ मा २ लाख ७० हजार ७२५ करोड भारतीय रुपैयाँ पुगेको छ ।

धेरै अर्बपति उद्योगीहरुको सम्पत्तिमा वृद्धि भए पनि कतिपयको सम्पत्तिमा भने गिरावट पनि आएको छ । भारतीय अर्बपति व्यवसायी गौतम अडानीको सम्पत्तिमा भारी गिरावट देखिएको छ । सन् २०२२ मा हिडेनबर्ग रिपोर्ट सार्वजनिक भएपश्चात उनको सम्पत्तिमा झण्डै ५० प्रतिशतको कमि आएको छ ।

४९.१७ प्रतिशतले कमि भएको उनको सम्पत्ति २०२२ मा १०.३ लाख करोड भारतीय रुपैयाँ रहेकोमा २०२३ मा घटेर ५.२४ लाख करोड भारतीय रुपैयाँ पुगको छ । सम्पत्तिमा गिरावट भएपनि उनी हाल भारतका दोस्रो धनि अर्बपति व्यक्ति हुन् ।

त्यस्तै, बाइजुस ग्रुपका मालिक बायजु रविन्द्रको समपत्तिमा पनि भारी गिरावट आएको छ । उनको सम्पत्ति ७३.१६ प्रतिशतले कम हुँदे १० लाख ९८० करोड भारतीय रुपैयाँ भएको छ ।


क्लिकमान्डु