अमेरिकालाई टक्कर दिन चीनले चिप उद्योगमा थप ४० अर्ब अमेरिकी डलर लगानी गर्ने



काठमाडौं । चीनले सरकारबाट लगानी गर्ने गरि चिपको उद्योगका लागि कोष खडा गर्ने भएको छ । सेमिकण्डक्टर क्षेत्रका लागि झण्डै ४० अर्ब अमेरिकी डलर (७३ खर्ब १९ अर्ब नेपाली रुपैयाँ) जुटाउने लक्ष्यसहित चीन सरकारले राज्यको समर्थनसहितको लगनी कोष सुरु गर्ने तयारी गरेको हो ।

अमेरिका र अन्य देशहरुसँगको चिपको युद्धमा आफूलाई पनि अब्बल देखाउन चीन सरकारले यति धेरै रकमको कोष खडा गर्न लागेको हो। यो चीन सरकारले घोषणा गर्ने तेस्रो ठूलो कोष हुनेछ, जसलाई ‘बिग फन्ड’ समेत भनिएको छ । इन्टिग्रेटेड सर्किट इन्डस्ट्री इन्भेस्मेन्ट फन्ड नाम दिइएको यो कोष सन् २०१४ र सन् २०१९ मा चीन सरकारले घोषणा गरेको यस्तै कोषहरुभन्दा पनि धेरै रकमको कोष रहेको छ । ती दुई कोषले क्रमशः १९ अर्ब ९८ करोड अमेरिकी डलर र २७ अर्ब ३८ करोड अमेरिकी डलर जम्मा भएको थियो ।

चीनले घोषणा गरेको कोषको ठूलो लगानी चिपको उत्पादनका लागि चाहिने उपकरणहरुमा हुनेछ । चिनियाँ राष्ट्रपति शि जिंगपिंगको लामो समयदेखिको चिन चिपमा आत्मनिर्भर होस् भन्ने आकांक्षालाई यो कोषले सहायाता पुग्ने बताइएको छ । सँगै पछिल्लो समय अमेरिका तथा अन्य देशहरुले पनि चिनमा चिप निर्यातको विषयमा गरेका कडाईका बीच यो कोषको घोषणा गर्न लागिनुले चिन आफू नै चिपमा निर्भर हुन खोजेको सन्देश दिएको छ ।

यो कोषलाई चिनियाँ अधिकारीहरुले हालै स्वीकृत गरेको बताइएको छ। युएसन्युजकाअनुसाुर यो कोषमा चिनियाँ वित्त मन्त्री ८ अर्ब २१ करोड जम्मा गर्ने पनि तयारी रहेको बताइएको छ ।

न्यूज एजेन्सी रोयटर्सकाअनुसार चीनियाँ वित्त मन्त्रालय, उद्योग तथा सूचना प्रविधि मन्त्रायले भने यो विषयमा कुनै पनि किसिमको प्रतिक्रिया दिएका छैनन् ।

कोषका लागि रकम जुटाउने काम केही महिनामा सुरु हुने बताइएको छ । तर, कुन मितिबाट यसको सुरुवात हुने भन्ने खुलाइएको छैन । यो कोषमा वित्त मन्त्रालय, चिनियाँ सरकारको स्वामित्व रहेको चिनियाँ विकास बैंक क्यापिटल, चिनियाँ राष्ट्रिय सुर्ती निगम र चिनियाँ टेलिकमले ठूलो समयोग गर्नेछन् ।

विगत केही वर्षदेखि बिग फन्डअन्तर्गतबाट चिनका दुई ठूला चिप उत्पादन गर्ने कारखानाहरुलाई सहयोग भइरहेको छ । सेमिकन्डक्टर म्यानुफेक्चरिङ इन्टरनेसनल कर्पोरेसन र हुवा हंग सेमिकन्डक्टरलाई यो कोषबाट सहयोग भइरहेको छ ।

तर, लगानीका बाबजुद पनि चिनियाँ चिप उद्योग भने पछिल्लो समय वैश्विक वितरणमा शिर्ष स्थानमा रहन सकिरहेको छैन । अत्याधुनिक चिपहरुको सन्दर्भमा चिनियाँ चिपहरु शिर्ष स्थानमा रहन सकेका छैनन् ।

नयाँ कोषका लागि चिनमा दुई ठूला संस्थाहरुलाई लगानीका लागि आवद्ध गर्न लागिएको छ । चीनको सिनो–इसि क्यापिटल, जसले यसअघिको कोषहरुको व्यवस्थापन गरेको थियो, उक्त कम्पनी भने सन् २०२१ देखि अनुसन्धानमा छ । तर, पनि उक्त कम्पनी एक व्यवस्थापन हुन सक्ने बताइएको छ ।

सँगै चिनियाँ सरकारले सरकारी स्वामित्व रहेको चाइना एरोस्पेस इन्भेस्टमेन्टलाई एक व्यवस्थापन हुनका लागि पनि आग्रह गरेका छन् ।


क्लिकमान्डु