दुर्गम जिल्लालाई चामल आपूर्ति गर्न टेन्डर आह्वान



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा नियमित चामल आपूर्ति गर्न टेन्डर आह्वान गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको स्वीकृत कोटाअनुसार दुर्गम जिल्लामा चामल आपूर्ति गर्न टेन्डर आह्वान गरेको हो । परेको टेन्डरको मूल्यांकन सकेर आपूर्ति गर्न आपूर्तिकर्ता छनौट गरेपछि चामल आपूर्ति हुने कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनकाअनुसार जुम्लालाई ९ सय टन, कालिकोटलाई १ हजार टन, मुगुलाई १ हजार ८ सय २० टन, डोल्पालाइ २ हजार टन, हुम्लालाई ३ हजार १ सय ५० टन, बाजुरालाई १ हजार ६ सय ५० टन, दार्चुलालाई १ हजार १ सय टन र जाजरकोटलाई १ हजार टन १८ हजार ८ सय ८० टन चामल आपूर्ति गर्न टेण्डर आह्वान गरिएको थियो ।

‘सबै प्रक्रिया सकेर आगामी दसैं सुरु हुनुअघि नै यो चामल ति जिल्लाहरुमा पठाइसक्ने लक्ष्य राखेका छौं,’ सुवेदीले भनिन्, ‘बर्षा र बाटोघाटोले अवरोध सिर्जना नगरे निर्धारित समयमै चामल पुर्याउँछौं ।’

गत वर्ष डेढ अर्बको कारोबार

कम्पनीले गत आर्थिक वर्ष डेढ अर्ब रुपैयाँबराबरको कारोबार गरेको छ । सुपथ मूल्य पसलसहित कम्पनीको सम्पूर्ण बिक्री केन्द्रमार्फत १ अर्ब ४८ करोड रुपैयाँको चामल, गेडागुडी, दाल, तेल, फापर, कोदोलगायतका बस्तु र इण्डक्सन चुल्हो बिक्री गरेको छ ।


क्लिकमान्डु