नेपालबाट विदेशी संस्थामा जहाज मर्मत गर्न जाने अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीमा नेपाल एयरलाइन्स नै सरकारको प्राथिमकतामा पर्छ । निगम सरकारी कम्पनी भएकोले यसका गतिविधि र सरकारी पहलमा विशेष चासो पनि हुने गरेको छ । यसपटक निगमको जहाज मर्मत गर्न इटली गइसकेको छ ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवाका जहाज मर्मतका लागि विश्वका १२ देशका ४० वटा विदेशी संस्थालाई आधिकारिक मान्यता दिएको छ ।
प्राधिकरणको एयरवर्दिनेस इन्स्पेक्सन डिभिजनले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकअनुसार हाल मान्यता प्राप्त यी संस्थाहरूमध्ये राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो ए-३३०-२०० वाइडबडी जहाज मर्मतका लागि इटालीको एटीटेक पठाएको छ ।
निगमले २ वर्षअघिदेखि इटाली पठाउन थालेको जहाजको सम्पूर्ण मर्मत (सिचेक) का लागि एउटा वाइडबडी जहाज मर्मत गर्न पठाएको हो । निगमका अनुसार एउटा वाइडबडी मर्मत गरेर आउनेछ र त्यसपछि अर्को वाइडबडी सिचेकका लागि जानेछ ।
निगमले यसअघि अन्य देशमा जहाज पठाउँदै आएकोमा पछिल्लो पटक गरिएको मर्मत युरोपेली मापदण्डको इटालीमा प्रभावकारी भएकाले यस पटक पनि सोही संस्था रोजेको हो ।
प्राधिकरणको सूचीको २२८औं नम्बरमा रहेको इटालीको नेपल्सस्थित एटीटेकलाई सन् २०२४ मा नेपालबाट जहाज मर्मतको अनुमति दिइएको थियो । युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) बाट समेत प्रमाणित यस संस्थाको नेपालका लागि मर्मत मान्यता सन् २०२७ फेब्रुअरी २८ सम्म कायम छ ।
प्राधिकरणले हालसम्म २६१ वटा विदेशी मर्मत केन्द्रहरूलाई सूचीकृत गरे पनि १२ देशका ४० वटा संस्थाको मात्र अनुमति अवधि कायम छ । जसमा सबैभन्दा धेरै भारतका ८ मर्मत केन्द्रहरू एआई इन्जिनियरिङ, एयरवर्क्स इन्डिया, जीएमआर एयर कार्गो, हिन्दुस्तान एयरोनटिक्स, एरो एभिएसन, भर्टेक्स एभिएसन, म्याक्स एमआरओ र क्रिस एरो रहेका छन् ।
सिंगापुरका ५ वटा संस्था एसटी इन्जिनियरिङ, सेफ्रान हेलिकोप्टर, प्राट एण्ड ह्विटनी, सिंगापुर कम्पोनेन्ट सोलुसन्स र सेफ्रान इलेक्ट्रिकल तथा चीनका ५ वटा संस्था- तिब्बत एयरलाइन्स, अमेको, सिचुवान सर्भिसेस, चाइना साउदर्न र गेमकोले मान्यता पाएका छन् ।
क्यानको सूचीमा क्यानडाका ५ वटा संस्था एयरोकर्प एभियोनिक, स्ट्यान्डर्ड एयरो, एजेडब्लू टेक्निक, हेली-वेल्डर्स र ग्लोबल एयरोस्पेस तथा मलेसियाका ४ वटा संस्था एसिया डिजिटल इन्जिनियरिङ, डिभिएसन टेक्निक्स, सेपाङ एयरक्राफ्ट र एमएबी इन्जिनियरिङ मर्मतका लागि योग्य देखिएका छन् ।
संयुक्त राज्य अमेरिकाका ३, थाइल्याण्डका २, फ्रान्सका २ र अस्ट्रेलियाका २ वटा संस्थाको अनुमति कायम छ । जर्मनीको लुफ्थान्सा टेक्निक, डेनमार्कको डीएओ एभिएसन र इटालीको एटीटेकले पनि नेपालबाट जहाज मर्मतको आधिकारिक मान्यता पाएका छन् ।
नेपालमा ठूला जहाजको जटिल प्राविधिक मर्मत र इन्जिन ओभरहल गर्ने सुविधा नभएका कारण नेपाली वायुसेवा कम्पनीहरू पूर्ण रूपमा विदेशी केन्द्रमा निर्भर हुनुपर्ने बाध्यता छ ।
प्राधिकरणले ती विदेशी संस्थाहरूको प्राविधिक उपकरण, जनशक्ति र सुरक्षा मापदण्डको कडा निरीक्षण र मूल्यांकन गरेर मात्रै मर्मतका लागि स्वीकृति प्रदान गर्ने गर्दछ । यी ४० वटै संस्थाहरूको मान्य अवधि सन् २०२६ र २०२७ सम्म रहेकाले नेपाली वायुसेवाका लागि मर्मतको विकल्प सुरक्षित बनेको छ ।
नेपालबाट अनुमति प्राप्त मान्य विदेशी विमान मर्मत संस्थाहरू
| क्र.सं. | देश | संस्थाको नाम | अनुमति पाएको वर्ष (सन्) | मान्य अवधि |
| १ | इटाली | अटिटेक एस.पी.ए. | २०२४ | २०२७ फेब्रुअरी २८ सम्म |
| २ | भारत | एआई इन्जिनियरिङ सर्भिसेस लिमिटेड | २०१५ | २०२६ जुलाई १५ सम्म |
| ३ | भारत | एयरवर्क्स इन्डिया इन्जिनियरिङ प्रा. लि. | २०१६ | २०२६ जुलाई १५ सम्म |
| ४ | भारत | जीएमआर एयर कार्गो एण्ड एयरोस्पेस इन्जिनियरिङ | २०२० | २०२६ डिसेम्बर ३१ सम्म |
| ५ | भारत | हिन्दुस्तान एयरोनटिक्स लिमिटेड | २०२० | २०२६ डिसेम्बर १९ सम्म |
| ६ | भारत | एरो एभिएसन सर्भिसेस प्रा. लि. | २०१८ | २०२७ मे २२ सम्म |
| ७ | भारत | एम/एस भर्टेक्स एभिएसन प्रा. लि. | २०२२ | २०२७ अप्रिल ७ सम्म |
| ८ | भारत | म्याक्स एमआरओ सर्भिसेस प्रा. लि. | २०२४ | २०२७ अप्रिल १ सम्म |
| ९ | भारत | क्रिस एरो सर्भिसेस प्रा. लि. | २०२४ | २०२६ अगस्ट ३० सम्म |
| १० | सिंगापुर | एसटी इन्जिनियरिङ एयरोस्पेस सिस्टम्स | २००५ | २०२६ जुलाई १५ सम्म |
| ११ | सिंगापुर | सेफ्रान हेलिकोप्टर इन्जिन्स एसिया | २००५ | २०२७ जुलाई १५ सम्म |
| १२ | सिंगापुर | प्राट एण्ड ह्विटनी क्यानडा (एसईए) | २००६ | २०२६ नोभेम्बर ३० सम्म |
| १३ | सिंगापुर | सिंगापुर कम्पोनेन्ट सोलुसन्स प्रा. लि. | २०१४ | २०२७ जुलाई १५ सम्म |
| १४ | सिंगापुर | सेफ्रान इलेक्ट्रिकल एण्ड पावर सिंगापुर | २०२५ | २०२६ अगस्ट २४ सम्म |
| १५ | चीन | तिब्बत एयरलाइन्स | २०१५ | २०२६ जुलाई १५ सम्म |
| १६ | चीन | एयरक्राफ्ट मेन्टेनेन्स एण्ड इन्जिनियरिङ कर्पोरेशन | २०१९ | २०२६ डिसेम्बर १५ सम्म |
| १७ | चीन | सिचुवान सर्भिसेस एयरो इन्जिन मेन्टेनेन्स | २०१८ | २०२७ मे ९ सम्म |
| १८ | चीन | चाइना साउदर्न एयरलाइन्स कम्पनी लिमिटेड | २०२५ | २०२७ जनवरी १९ सम्म |
| १९ | चीन | ग्वाङ्जाउ एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ | २०२५ | २०२६ जुलाई २१ सम्म |
| २० | थाइल्याण्ड | थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड | २०१५ | २०२७ मार्च ९ सम्म |
| २१ | थाइल्याण्ड | मिसेलिन | २०२० | २०२७ जनवरी २० सम्म |
| २२ | फ्रान्स | साबेना टेक्निक्स डीएनआर | २०१४ | २०२७ अप्रिल २३ सम्म |
| २३ | फ्रान्स | सोसाइटी एयर फ्रान्स | २०१६ | २०२६ जुलाई १५ सम्म |
| २४ | जर्मनी | लुफ्थान्सा टेक्निक | २०१४ | २०२७ जुलाई १५ सम्म |
| २५ | क्यानडा | एयरोकर्प एभियोनिक सोलुसन्स इन्क | २००५ | २०२६ अगस्ट १ सम्म |
| २६ | क्यानडा | स्ट्यान्डर्ड एयरो हेलिकोप्टर सर्भिसेस | २०२० | २०२७ जनवरी ६ सम्म |
| २७ | क्यानडा | एजेडब्लू टेक्निक इन्क | २०२१ | २०२७ मार्च १५ सम्म |
| २८ | क्यानडा | हेली-वेल्डर्स क्यानडा लिमिटेड | २०२४ | २०२७ अप्रिल ४ सम्म |
| २९ | क्यानडा | ग्लोबल एयरोस्पेस कर्पोरेशन | २०२३ | २०२६ डिसेम्बर ९ सम्म |
| ३० | संयुक्त राज्य अमेरिका | एयरक्राफ्ट प्रोपेलर सर्भिस | २०१९ | २०२७ मार्च १ सम्म |
| ३१ | संयुक्त राज्य अमेरिका | नाम्पा भ्याली हेलिकोप्टर्स इन्क | २०२३ | २०२६ नोभेम्बर ३० सम्म |
| ३२ | संयुक्त राज्य अमेरिका | ईआईआईएफ म्यानेजमेन्ट | २००७ | २०२६ जुलाई १५ सम्म |
| ३३ | मलेसिया | एसिया डिजिटल इन्जिनियरिङ | २०२२ | २०२६ सेप्टेम्बर ८ सम्म |
| ३४ | मलेसिया | डिभिएसन टेक्निक्स | २०१७ | २०२६ जुलाई १५ सम्म |
| ३५ | मलेसिया | सेपाङ एयरक्राफ्ट इन्जिनियरिङ | २०१७ | २०२७ जुलाई १५ सम्म |
| ३६ | मलेसिया | एमएबी इन्जिनियरिङ सर्भिसेस | २०२३ | २०२७ अप्रिल ३० सम्म |
| ३७ | अस्ट्रेलिया | टीएई एयरोस्पेस प्रा. लि. | २०१२ | २०२६ जुलाई १५ सम्म |
| ३८ | अस्ट्रेलिया | प्यासिफिक टर्बाइन ब्रिसबेन | २०१४ | २०२७ जुलाई १५ सम्म |
| ३९ | बेलायत | टर्नर एभिएसन लिमिटेड | २०२४ | २०२६ डिसेम्बर १८ सम्म |
| ४० | डेनमार्क | डीएओ एभिएसन | २००५ | २०२६ जुलाई १५ सम्म |






प्रतिक्रिया