के ‘वर्क फ्रम होम’ले फेरिरहेको छ काम गर्ने शैली ?



एजेन्सी । कोभिड-१९ महामारीको समयमा विश्वभरमा करोडौं मानिसहरु कार्यालयको काम घरबाट गर्न थालेका थिए । अर्थात ‘वर्क फ्रम होम’ को व्यापक सुरुवात भएको थियो ।

त्यो बेला यो एउटा सामान्य घटना थियो ।

तीन वर्षपछि अहिले गुगल, मेटा र अमेरिकाका सबैभन्दा ठूलो बैंक ‘जेपी मोर्जन चेज एण्ड कम्पनी’जस्ता ठूला कम्पनीहरु पनि ‘वर्क फ्रम होम’को मोडलमा पुनः प्रवेश गर्ने सोचन थालेका छन् ।

यी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई साता भरिका केही दिन मात्रै अफिस वा कार्यालयमा आएर काम गर्न भनिरहेका छन् । भारतमा पनि कैयौं कम्पनीहरुले आफ्ना कर्मचारीहरलाई यस्तै आग्रह गरिरहेका छन् ।

के कोभिड–१९ महामारीमा सुरु भएको वर्क फ्रम होमको चलन अहिले पनि उस्तै गरि विश्वमा छ त ? के यसले काम गर्ने शैलीलाई परिवर्तन गर्न सक्छ त ?

कोरोनाले फेरिएको काम गर्ने शैली

मेक्सिकोको आयट्म विश्वविद्यालयमा फाइनेन्स विभागमा सहायक प्राध्यापक रहेकी होजे मारिया बरेरोले वर्क फ्रम होमको विषयमा अनुसन्धानात्मक परियोजना सुरु गरेकी छिन् । उनी रिमोट वर्किङ वा वर्क फ्रम होमको बारेमा जानकारीहरु जम्मा गरिरहेको बताउँछिन् ।

उनी कोभिड महामारीका क्रममा लकडाउनको कारणले मानिसहरु घरमा काम गर्नमा बाध्य भएको बताउँछिन् । त्यो स्थितिले हामीलाई वर्क फ्रम होमको परम्परालाई प्रयोग गरेरै हेर्ने अवसर दिएको थियो । अफिसको काम घरमा कसैले गर्न सक्छ कि सक्दैन भन्ने कुराको अनुभव लिने मौका कोभिडले दिएको उनी बताउँछिन् ।

‘कोभिड महामारीभन्दा पहिले घरबाट काम गर्दा आफ्नो म्यानेजर वा बोसको नजरबाट टाढा हुन्छन् भन्ने धारणा थियो,’ उनी भन्छिन्, ‘गर्नुपर्ने कामबाट टाढा हुने र बच्न पाइन्छ भन्ने धारणा थियो । घरमा हुँदा अफिसमा हुँदा जस्तै मिहेनत र इमान्दारीका साथ काम गरिदैंन भन्ने मान्यता थियो ।’

तर, महामारीका क्रममा धेरै मानिसहरुले घरबाट नै काम गर्न बाध्य हुनुपर्ने अवस्थाले यो धारणामा परिवर्तन ल्याएको बरेरो बताउँछिन् ।

वर्क फ्रम होमको विषयमा भएका शोधमा अमेरिकामा हजारौं मानिसलाई उनले काम र त्यससँग सम्बन्धित विषयलाई लिएर प्रश्न गरिएका छन् । यो शोधमा ३४ देशमा वर्क फ्रम होमको विषयलाई लिएर सर्वेक्षण गरिएको छ । यसबाट प्राप्त भएका परिणामहरुले अमेरिका र बेलायतजस्ता अंग्रेजी बोल्ने देश र बिकसित देशहरुमा वर्क फ्रम होमको स्तर अधिक रहेको देखाएको छ ।

यो स्तर एसिया र ल्याटिन अमेरिकाका देशहरुमा कम रहेको छ । यसको कारण एसियाली देशमा कोभिड महामारीलाई राम्रोसँग नियन्त्रण गर्नु पनि रहेको देखिन्छ । जसकारण लामो समयसम्म लकडाउन नचल्नु र कर्मचारीहरुमा घरबाट काम गर्ने बानी बिकास नै नभएको शोधले देखाउँछ ।

अमेरिकामा ६० प्रतिशत मानिसहरु आफ्नो काम घरबाट गर्दैनन । किनकी उनीहरु पसल वा कारखानामा काम गर्ने मानिसहरु छन्। उनीहरुका लागि घरबाटै काम गर्न सम्भव हुँदैन । उनीहरु कारखानामा वा भौतिक रुपमा आफ्नो कार्यस्थलमा पुगेर काम गर्नुपर्ने हुन्छ ।

तर, कैयौं मानिसहरु आफ्ना केही काम अफिसमा गएर गर्ने र केही काम घरमा नै गर्ने गर्छन् । यस्तो प्रकृतिको कामलाई हाईब्रिड प्रकृतिको काम भनिन्छ ।

‘अब हाईब्रिड मोडल नै काम गर्ने प्रमुख तरिका हो,’ होजे बरेरो भन्छिन्, ‘कुल कर्मचारीको केही सानो भाग मात्रै घरबाट काम गर्छ । खासगरी घरमा काम गर्न मिल्ने व्यवसायमा संलग्नहरुले नै यस्तो काम गरिरहेका छन् । उदाहरणका लागि आईटी सपोर्टको क्षेत्रमा काम गर्ने कैयौं कर्मचारीहरु घरबाट नै काम गरिरहेका छन् ।’

होजेले गरेको सर्वेक्षणमा भाग लिने अधिकांश मानिसहरु घरमै बसेर काम गर्न चाहन्छन् । यसका कैयौं कारणहरु पनि रहेका छन् । पहिलो घरबाट काम गर्दा अफिससम्म जाने समय र पैसाको बचत हुन्छ । घरबाट नै काम गर्दा धेरै आरामदायी रुपमा काम गर्न सकिने उनीहरु बताउँछन् ।

तर, कम्पनीहरु यसबारेमा त्यत्ति धेरै सहज भएका देखिदैंनन् । कार्यालयहरुलाई कर्मचारीहरु घरमा हुँदा र घरबाट काम गर्दा प्रभावकारी रुपमा काम नगर्ने आशंका छ । तर, विस्तारै कम्पनीहरुको यो विचारमा परिवर्तन आइरहेको छ ।

होजे बरेरोकाअनुसार प्रायः कर्मचारीहरुले घरमै बसेर राम्रोसँग काम गर्न सक्ने र धेरै काम गर्न सक्ने बताएका छन् । तर, कम्पनीहरु भने कर्मचारीहरु अफिसमा आउने हो र अफिसमै काम गर्ने हो भने धेरै काम गर्न सक्छन् भन्ने घारणा छ ।

बरेरो कोभिड महामारीले कामकाज गर्ने शैलीमा नयाँ तरिका सिकाएको बताउँछिन् । यसका कारण घरमै बसेर काम गर्न सामान्य भएको छ । तर, यो विश्वभरका सबै ठाउँमा लागु भने भएको छैन ।

जापानमा कसरी हुन्छ काम ?

सरे विश्वविद्यालयमा कर्पोरेट गभर्नेन्स र अन्तराष्ट्रिय व्यापारका प्राध्यापक रहेका डाक्टर साआरी सुगेनोले जापानमा २० वर्षभन्दा धेरै समय बिताइसकेकी छिन् । उनी जापानमा वर्क फ्रम होमजस्तो कुनै नयाँ शैलीलाई नअपनाइएको बताउँछिन् । अन्य बिकसित देशहरुमा अपनाइएको जस्तो जापानमा भएको छैन । जापानको कर्पोरेट कल्चर अन्य देशको तुलनामा फरक भएकाले यस्तो भएको उनी बताउँछिन् ।

‘जापानमा मानिसहरु जहाँ काम गर्छन्, त्यहाँको साथीभाईसँग गहिरो सम्बन्ध महसुस गर्छन्,’ उनी भन्छिन्, ‘कम्पनीहरु उनीहरु सहमतिमा फैसला लिन्छन् । यो काम कर्मचारीहरु एकअर्काको आमनेसामने हुँदा सहज हुन्छ । यसकारण मानिसहर अफिसमा नै गएर काम गर्न रुचाउँछन् ।’

साओरीकाअनुसार जापानमा कम्पनीहरुमा अबेरसम्म काम गर्ने र काम सकिएपछि आफ्नो टिमका कर्मचारी र प्रमुखसँग बाहिर गएर रक्सी पिउने, समय बिताउने, घुलमिल हुनेजस्ता कामहरु जरुरी मानिन्छन् । यो जापानकै कर्पोरेट कल्चरको भाग मानिन्छ।

‘यो कारण पनि जापानमा मानिसहरु अफिसमा गएर काम गर्न चाहन्छन्’, उनी भन्छिन्, ‘यो चलन सबै ठूलो र सानो कम्पनीहरुमा देखिन्छ । यसको असर कर्मचारीहरुको सामाजित व्यवहारमा पनि देखिन्छ । कर्मचारीहरु आफ्नो कम्पनी र टिमको भाग भन्छन् । यसकारण घरमा गएर काम गर्नेभन्दा पनि बढि जापानमा कार्यालयमा नै काम गर्न रुचाइन्छ ।’

वर्क फ्रम होम ठीक कि बेठिक ?

‘सैगरडाय ल फर्म’का रोमन गिल श्रम कानुनका विशेषज्ञ हुन । उनको कम्पनीका वकिलहरुले विभिन्न बहुराष्ट्रिय कम्पनीहरुका श्रमीकहरुको सम्झौतासम्बन्धी कानुनको विषयमा सल्लाह दिएका छन् । उनी कैयौं कम्पनीहरुले आफूलाई यथावत राख्नका लागि मात्रै कर्मचारीहरुलाई घरबाट काम गर्नका लागि अनुमति दिएको बताउँछन् ।

तर, वर्क फ्रम होम वा अफिस बाहिरबाट काम गर्नका लागि कैयौं नियम र दिशानिर्देशहरु पनि रहेका छन् । यसको पालना गर्नु पनि आवश्यक रहेको बताउँछन् गिल । उदाहरणका लागि अनलाइन काम गर्नेहरुलाई एक निर्धारित समयपछि कम्प्युटर बन्द गरेर लगआउट गर्ने अधिकार रहेको उनी बताउँछन् ।

वर्क फ्रम होमको जोखिम भनेको कैयौं पटक मानिसहरु तय भएको समयभन्दा धेरै काम गर्छन । सकेसम्म धेरै समयसम्म अनलाइन बसिरहन खोज्छन् । गिल उनीहरुलाई आफूले लगआउट गर्ने वा डिसकनेक्ट गर्ने अधिकार भएको कुरा कर्मचारीहरुले नबुझेको बताउँछन् । उनी भन्छन्, ‘यसलाई फ्रान्स, इटली, फिलिपिन्स र क्यानडाजस्ता देशहरुमा लागु पनि गरिएको छ ।’

गिलकाअनुसार कामको समय सकिएपछि कर्मचारीहरुले चाहेमा अनलाइन कनेक्सन बन्द गर्न सक्छन् । उनीहरुले कम्पनीको फोन नउठाउन पनि सक्ने कानुन रहेको उनी बताउँछन् । तय भएको समयभन्दा धेरै काम गर्नका लागि अस्वीकार गर्ने अधिकार पनि कर्मचारीसँग हुन्छ । यस्तोमा कम्पनीहरुले कर्मचारीलाई अनुशासनात्मक कारबाही गर्न नसक्ने गिल बताउँछन् ।

यी सबैका बिच वर्क फ्रम होमको विषयमा जोडिएका स्पष्ट कानुनहरुको भने अभाव छ ।

घरबाट कर्मचारीहरुले काम गर्दा बिजुली, एयरकन्डिसनिङ र इन्टरनेटको बिलमा हुने बृद्धिका लागि कम्पनी जिम्मेवार हुने कि नहुने भन्ने यसको उदाहरण भएको गिल बताउँछन् । उनी भन्छन्, ‘यसको बारेमा कुनै नियम छैन । यदि घरबाट काम गर्दा खर्चहरु बृद्ध भएमा त्यसको जिम्मेवारी कम्पनीको हुन्छ कि हुँदैन भन्ने कुनै कानुन छैन । कार्यालयमा यो खर्च हुँदा कम्पनी जिम्मेवार हुन्छ । तर, घरमा कर्मचारीले काम गरिरहेको छ भने त्यसको लागि कसले बिल तिर्ने भन्ने स्पष्ट कानुन छैन ।’

चुनौती पनि छन्

कोभिड महामारीपछि पनि कैयौं मानिसहरु घरबाट नै काम गरिरहेका छन् । उनीहरु आफ्ना सहयोगीहरुसँग भिडियो कन्फ्रेन्समार्फत जोडिएर बैठक गर्छन् ।

ट्रिनीटी बिजनेस स्कुलमा संगठनात्मक व्यवहारका प्राध्यापक रहेका व्लैड रिवकिन डब्लिन कर्मचारहिरुको मानसिक स्वास्थइमा वर्क फ्रम होमले असर गर्ने बताउँछन् । उनी आमनेसामने बसेर बैठक गर्दाभन्दा अनलाइनबाट बैठकमा बस्दा धेरै थकान हुने शोधले बताएको उदृत गर्दै कर्मचारीहरुको मानसिक स्वास्थ्य वर्क फ्रम होमका कारण बिग्रने बताउँछन् । सँगै कामप्रतिको लगाव सकिने, निराशा हुने, बिमार हुनेजस्ता समस्याहरु पनि देखिने उनी बताउँछन् ।

डब्लिन भन्छन्, ‘कर्मचारी बिरामी भएमा वा छुट्टिमा गएमा कम्पनीको खर्च पनि बढ्छ । कम्पनीले उनीहरुको ठाउँमा अर्को मान्छेलाई राख्नुपर्ने हुन्छ । यसले खर्चलाई बढाइदिन्छ ।’


क्लिकमान्डु