धानमा गवारो, कोदोमा खुम्रे कीराको संक्रमण



म्याग्दी । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन् ।

धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका-४ का किसान रणबहादुर थापाले बताए । उनका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् ।

मङ्गला गाउँपालिकाको रणबाङको फाँट र बेनी नगरपालिका-२ बगरफाँटमा पनि धानमा गबारो कीराको सङ्क्रमण देखिँदा पूरै खेतमा धानको गुबो मर्दै गएको बगरफाँटका खड्गबहादुर थापाले बताए । उनका अनुसार धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गरेको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी ६ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् ।

गबारो कीराको सङ्क्रमण तीव्ररूपमा फैलने भएकाले धान बाली केही दिनमै नष्ट हुने कृषि प्राविधिक बानियाँले बताए । धानखेतमा रासायनिक युरिया मलको अत्यधिक प्रयोग गर्नु, पानीको कमी हुनु तथा अन्य सूक्ष्म तत्वका कारण गबारो कीराको सङ्क्रमण सहजै फैलने बानियाँले जानकारी दिए ।

उनका अनुसार कोदो बालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रे कीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन् ।

कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छ भने यहाँको धान खेतीमा ढुसीजन्य रोगको सङ्क्रमण पनि देखिएको किसानको भनाइ छ । हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका-२ का किसान जगबहादुर विकले बताए ।

विषादी छर्केपछि रोग अन्य स्थानमा फैलिन नपाउने भएको प्राविधिकको सल्लाहअनुसार विषादी छर्किएको विकको भनाइ छ । हालसम्म एक सय ४० सय रोपनी जग्गामा लगाइएको कोदो बाली खुम्रे कीराले नष्ट गरेको उनले जानकारी दिए ।

खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको कृषि प्राविधिक बानियाँले बताए । आगामी दिनमा मकै लगाउने मौसममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

केन्द्रका अनुसार म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले-२ लगायतका उन्नत जातका धानखेती हुने गरेको बानियाँले जानकारी दिए ।

लेकाली क्षेत्रमा सिँचाइ आवश्यक नपर्ने भएकाले घैया जातको धान खेती हुने उनको भनाइ छ । उनका अनुसार यहाँ कोदो भने स्थानीय जातको खेती हुने गरेको छ ।


क्लिकमान्डु