विभागद्वारा २१ व्यवसायमा अनुगमन, १२ वटालाई ७ लाख १५ हजार जरिवाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एकैदिन २१ वटा व्यवसायमा अनुगमन गरेको छ । २१ वटा फर्ममा अनुगमन गरेको विभागले १२ वटालाई ७ लाख १५ हजार जरिवाना गरेको छ ।

नियमविपरीत व्यवसाय गर्ने पसललाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको हो । सबैभन्दा धेरै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याटखाटोलमा रहेको एक खाद्यवस्तु विक्रेतालाई ३ लाख जरिवाना गरिएको छ ।

त्यस्तै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याङ्जाको अर्को खाद्यवस्तु विक्रेतालाई पनि २ लाख जरिवाना गरिएको विभागले जनाएको छ । बिनादर्ता सञ्चालित त्रिपुरेश्वरको सर्जिकल सामान बेच्ने विक्रेतालाई विभागले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सोल्टीमोड र नयाँ बजारमा रहेको मिनिमार्ट, नयाँ बजारको रेडिमेड कपडा पसल, कस्मेटिक पसल लगायतलाई पनि विभागले जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा कैफियत भेटिएकालाई सचेत गराउने तथा जरिवाना गराउने गरिएको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।


रवि धिताल