प्राथमिक स्वास्थ्यका लागि बंगलादेशलाई विश्व बैंकको २० करोड डलर सहयोग



एजेन्सी । विश्व बैंकले बंगलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

‘सहरी स्वास्थ्य, पोषण र जनसङ्ख्या परियोजनाले प्राथमिक स्वास्थ्य केन्द्रहरूको सञ्जाल स्थापना गर्नेछ, जसले स्वास्थ्य, पोषण र जनसङ्ख्या सेवाहरूको विस्तृत दायरा प्रदान गर्छ र दोस्रो र तृतीय स्तरको सुविधाका साथ प्रत्यक्ष ‘रेफरल’ प्रणाली प्रदान गर्छ,’ वासिङ्टनस्थित ऋणदाताले बुधबार प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सहरी क्षेत्रका पाँच वर्षमुनिका करिब २५ लाख बालबालिकाले सेवा पाउनेछन् ।’

बंगलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक अब्दुलाय सेकले भने, ‘बंगलादेशले विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधारमा उल्लेखनीय प्रगति गरेको छ । सहरी क्षेत्रमा सीमित सार्वजनिक स्वास्थ्य सेवा भएका कारण गरिब र सुकुम्बासी बस्तीका बासिन्दा प्रायः महँगो निजी स्वास्थ्य सेवामा जानुपर्ने बाध्यता छ ।’

साथै, उच्च जनघनत्व, जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण नयाँ स्वास्थ्य चुनौती देखा परिरहेका छन्, जसमा डेङ्गुको बढ्दो सङ्क्रमण र सङ्क्रामक तथा नसर्ने रोगहरू पनि समावेश छन् ।

यस परियोजनाले महिलाका लागि प्रसवपूर्व सेवाहरूमा पनि सुधार गर्नेछ । विज्ञप्तिमा भनिएको छ, ‘परियोजनाले २५ लाखभन्दा बढी महिलालाई गर्भावस्थाको समयमा कम्तीमा चार पटक स्वास्थ्य परीक्षण प्राप्त गर्ने लक्ष्यका साथ यसले उच्च रक्तचापको परीक्षण र लगभग १३ लाख वयस्कको फलो-अपलाई पनि सहयोग पुर्‍याउनेछ ।’


क्लिकमान्डु