भारतले खुलायो तीन देशका लागि चामल निर्यात, नेपाल पर्‍यो कि परेन ?



काठमाडौं । भारत सरकारले चामलको निर्यातमा लगाएको प्रतिबन्धमा केही खुकुलो गरेको छ । भारत सरकारले तीन देशका लागि निर्यात प्रतिबन्ध हटाएको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तीन देशका लागि बासमतीबाहेकका चामलको निर्यात खुला गरिएको जनाएको छ । मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार भुटान, सिंगापुर र अफ्रिकी मुलुक मरिससका लागि चामल निर्यात खुला गरिएको हो ।

नेपाल भने यसरी निर्यात खुला गरिएको देशमा पर्न सकेन । भारतीय सञ्चारमाध्यमका अनुसार निर्यात खुला गरिएका देशहरुमा चामलको परिणाम पनि तोकिएको छ । भुटानमा हाललाई ७९ हजार मेट्रिक टन, सिंगापुरका लागि ५० हजार मेट्रिक टन र मरिससका लागि १४ हजार मेट्रिक टन चामलको निर्यात खुलाइएको छ ।

जुलाई २० बाट भारतले निर्यात प्रतिबन्ध लगाएको थियो । केही दिनअघि उसिना चामलको निर्यातमा पनि २० प्रतिशत महसुल लगाउने निर्णय भारत सरकारले गरेको थियो ।

भारतले पटक-पटक निर्यातमा गर्ने यस्ता कडाइका कारण नेपाली बजारमा खाद्यान्नको मूल्यमा उच्च उथलपुथल भइरहेको छ । भारतले निर्यातमा गरेको कडाइका कारण नेपालमा चामल, प्याजजस्ता खाद्यान्नको मूल्यवृद्धि भएको छ ।


क्लिकमान्डु