बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् ।

बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि उनले आग्रह गरे ।

नगर प्रहरीलाई हिम्मतले काम गर्न बालेनको आग्रह थियो । नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै उनले यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताए ।

महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भूमिकाको उनले प्रशंसा गरे ।

काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए ।


क्लिकमान्डु