धार्मिक संस्थाले विदेशबाट ल्याउने सहयोग शंकास्पद



काठमाडौं । धार्मिक संघ संस्थाले विदेशबाट ल्याएको रकम शंकास्पद तरिकाले खर्च गरिरहेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मन्दीर, मस्जिद, चर्च र गुब्बा निर्माणका लागि ल्याइने सहयोग रकम शंकास्पद क्षेत्रमा खर्च हुने गरेको पाइएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको कानून महाशाखाले आयोजना गरेको कार्यक्रममा सीआईबीका अधिकारीहरुले वित्तीय अपराध सम्बन्धी प्रस्तुती गर्दै धार्मिक संस्थाका लागि भन्दै विदेशबाट जथाभावी व्यक्ति तथा संस्थाको नाममा रकम ल्याउने र दुरुपयोग गर्ने क्रम बढिरहेको बताएका थिए ।

‘यो विकृति रोक्न कस्तो संस्थाले कहाँबाट कतिसम्म सहयोग लिन सक्छ भन्ने किसिमको मापदण्ड बनाउन आवश्यक छ,’ सीआईबीका अधिकारीले प्रस्तुतिको क्रममा भने,‘सरकारी निकायको स्वीकृतिपछि मात्रै धार्मिक संस्थाको नाममा विदेशबाट पैसा ल्याउन दिने र त्यसरी ल्याइएको रकमको नियमन गर्न अधिकारी सम्पन्न नियमनकारी निकाय स्थापना गर्न आवश्यक छ ।’

हाल गुम्बा, चर्च र मस्जिद बनाउने नाममा विदेशबाट विभिन्न निकायले धेरै पैसा ल्याउने गरेका छन् । त्यसरी ल्याएको पैसा धार्मिक आस्थाका सम्पदा बनाउनभन्दा पनि अन्य प्रयोजनमा खर्च भइरहेको प्रहरीको आशंका छ ।


क्लिकमान्डु