पौने १० अर्ब रुपैयाँ लगानी थपेर जय अम्बे स्टील्सले उत्पादन क्षमता बढाउने, ५४ अर्बको ब्यापार गर्ने



काठमाडौं । लुम्बिनी प्रदेशको बाँकेमा रहेको जय अम्बे स्टील्सको ९ अर्ब ७५ करोड रुपैयाँ थप लगानी गरेर क्षमता बृद्धि गर्ने भएको छ ।

हाल वार्षिकरुपमा ४० हजार मेट्रिक टन टिएमटीलगायतको उत्पादन गर्दै आएको कम्पनीले क्षमता थप गर्दै इन्डक्सन फर्नेको प्रयोग गर्ने तयारी गरेको हो ।

कम्पनीले क्षमता बढाएर टिएमटीसँगै जिआई वायर, बाइन्डिङ वायर, गेबियन बक्स, एमएस वायरलगायतका अन्य उत्पादनहरु पनि गर्ने भएको हो । अम्बे ग्रुपका हरि न्यौपाने सञ्चालक रहेको यो उद्योग २०७५ मा स्थापना भएको जय अम्बे स्टील्स बाँकेको जानकारी गाउँपालिका वडा नम्बर ५ मा रहेको छ । कम्पनीले हाल रिहिटिङ फर्नेसको प्रयोग गरि आफ्ना उत्पादनहरु गर्दै आएको छ ।

उद्योगले वार्षिक सञ्चालन नाफा मात्रै १ अर्ब ६६ करोड ५६ लाख रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरेको छ।

उद्योगले आफ्नो उत्पादनबाट ५३ अर्ब ७० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य लिएको छ। उद्योगको वार्षिक खर्च ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर हुने अनुमान छ।

उद्योगले आफ्नो क्षमता बढाउँदै यसअघि विदेशबाट आयात गर्ने एमएस ब्लेड पनि स्वदेशमा नै उत्पादन गर्न लागेको हो । कम्पनीले क्षमता अभिवृद्धिका लागि गराएको वतावरणिय प्रभाव मूल्याकंन प्रतिवेदनकाअनुसार कम्पनीले आफ्ना विभिन्न उत्पादनहरुमा बृद्धि गराउन लागेको छ ।

कम्पनीले आफ्नो उत्पादन टिएमटी रडलाई थप ३ लाख ५० हजार मेट्रिक टनले बढाउने बताएको छ । त्यस्तै, एमएस बिलेट १ लाख, टोकरी २४ हजार, बाइन्डिङ वायर १२ हजार, गेबियन बक्स २४ हजार, एमएस वायर ४० हजार, एमएस च्यानल, एंगललगायत १ लाख मेट्रिक टनले थप उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल ७० जना मानवीय स्रोतको प्रयोग भइरहेको कम्पनीमा अब भने ४३० जना थपिएर ५०० जनाले रोजगारी पाउने छन् । उद्योगमा प्रयोग भइरहेको बिजुली पनि ११ गुणाले बृद्धि भई ५५ हजार किलोभोल्ट वार्षित प्रयोग हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कम्पनीले क्षमता अभिबृद्धि गर्दा थप १५ विद्या ५ कठ्टा ३.६७ धुर जग्गा पनि आवश्यक पर्ने देखिएको छ । हाल उद्योग सञ्चालनमा रहेको क्षेत्रको क्षेत्रफल १ बिघा १९ कठ्ठा १७.३३ धुर रहेको छ ।

प्रतिवेदनकाअनुसार हाल सञ्चालनमा रहेको उद्योगमा २४ करोड ८० लाख रुपैयाँको कुल लगानी रहेको छ । यसमा थप ९ अर्ब ७५ करोड २० लाख रुपैयाँ लगानी गरि उद्योगलाई ठूलो उद्योगमा रुपान्तरण गर्न लागिएको हो ।

अम्बे स्टिल्सको भगिनी संस्था जय अम्बे स्टिल्स लिमिटडले सन् २०२२ मा ८ अर्ब ८२ लाख रूपैयाँ आम्दानी गरेको थियो।


क्लिकमान्डु