खुमा अर्यालको जनकपुर एग्रोले १ अर्ब ३६ करोड ऋण लिएर अगार्निक मल कारखाना र सिएनजी प्लान्ट बनाउँदै



काठमाडौं । सन् २०२२ जुनमा पब्लिक कम्पनीमा रुपान्तरण भएको जनकपुर एग्रो फार्म लिमिडेटले १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ।

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल अध्यक्ष रहेको कम्पनीले दीर्घकालिन कर्जा सुविधा र अल्पकालिन कर्जा सुविधा गरि १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

रेटिङ एजेन्सीकाअनुसार कम्पनीले १ अर्ब १३ करोड ६३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधामा बि प्लस र १३ करोड ३० लाख रुपैयाँको कोषमा आधारित अल्पकालिन कर्जा सुविधामा ए फोर र १० करोड कोषमा आधारित नरहेको कर्जा सुविधामा ए फोर रेटिङ पाएको छ ।

२०१८ मा खुलेको यो कम्पनी गत वर्ष अर्थात २०२२ जुन २६ मा मात्रै पब्लिक कम्पनी भएको हो । कम्पनी पोल्ट्री फार्मिङअन्तर्गत अण्डालगयतका सामग्रीको उत्पादन तथा अर्गानिक मलको उत्पादन लगायतका काममा संलग्न छ । कम्पनीसँग दुई कुखुरा हुर्काउने ठाउँ रहेका छन्, जसमा ५१ हजार ८४० प्रतिसेड (खोर) कुखुरा अट्छन् । त्यस्तै, पाँच वटा भने अण्डा पार्ने खोर रहेका छन्, जसमा १ लाख ८ सय कुखुराहरु खट्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले ८ हजार ७२० टन प्रतिवर्ष अर्गानिक मल उत्पादन गर्ने कारखाना र ८ सय किलोवाट विद्युतीय उर्जा उत्पादन गर्ने गरि सिएनजी बायोग्यास प्यान्ट निर्माण गर्न लागेको छ ।

कम्पनीले उक्त प्यान्ट १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण गर्न लागेको छ । जसमध्ये १ अर्ब १३ करोड ६० लाख कर्जा र ४८ करोड ७० लाख साझेदारीको लगानीमा निर्माण हुन लागेको छ ।

सन् २०२३ को जुलाईको मध्यसम्ममा कम्पनीले निर्माण गर्न लागेको यो सिएनजी प्यान्टको आर्थिक प्रगती ७५ प्रतिशत भएको छ। २०२३ को अगस्टमा केही रुपमा सञ्चालनमा आउने र सन् २०२५ बाट पूर्णरुपमा यो प्लान्ट सञ्चालनमा आउने भनिएको छ ।

विशेषगरी अण्डा, लेयर्स र मल बिक्री वितरण गर्ने गरी उद्योग निर्माण भइरहेको कम्पनीले जनाएको छ ।

खिलुङ कालिका एग्रो प्रालि तथा जनकपुर एग्रोमा पूर्णस्वामित्व रहेको कम्पनीको खुमाप्रसाद अर्याल अध्यक्ष हुन् भने शोभाकान्त ढकाल व्यवस्थापन निर्देशक हुन् । खिलुङ कालिका एग्रोले विगत ५ वर्षदेखि पोल्ट्रि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ ।

सरकारले पोल्ट्रीको संरक्षण तथा आत्मनिर्भर बन्नका लागि विभिन्न देशबाट आयात हुने कुखुराजन्य वस्तुमा प्रतिबन्ध लगाएको छ। जसले गर्दा आयातित पोल्ट्रीमा भर पर्नुपर्ने अवस्था छैन । तर, आयातमा प्रतिबन्ध लगाए पनि बर्ड फ्लूलगायत अन्य विभिन्न समस्याले गर्दा पोल्ट्री क्षेत्रमा धेरै जोखिम रहेको कम्पनीको भनाइ छ ।

साथै, कम्पनीले वार्षिक ८ हजार ७२० मेट्रिक टन जैविक मल प्लान्ट ८०० किलोवाटको बायोग्यास सीएनजी प्लान्ट विद्युत उत्पादन क्षमतामा विस्तार गर्ने भएको छ ।


क्लिकमान्डु