ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज



काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

एकीकृत कारोबार कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रुपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको बताए । उनले बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकोले संस्थागत सुशासन सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरुलाई आग्रह गरे ।

बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरु बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पूँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएकोमा सोही अनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए ।

ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरुले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए ।


रवि धिताल