नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका एसएसपी कार्की र केसीको सरुवा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको सरुवा गरेको भएको छ ।

गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीको सरुवा गरेको हो ।

कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ भने केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ ।

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुवै एसएसपीलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएका थिए । एसएसपी केसी नेतृत्वको टोलीले नै कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको थियो ।

केसीले हालै थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेका थिए । त्यसपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि केसीलाई हटाउन दबाब बढाएका थिए ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि सरकारले हटाइसकेको छ । उनको ठाउँमा एआईजी दिपक थापा ल्याइएका छन् ।


रवि धिताल