सल्यानमा सवारी दुर्घटना, दुईको मृत्यु
दाङ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका–३ आगरखोलानजिकै दिउँसो ३ बजेतिर हाइस दुर्घटनामा परेको हो ।