साउनमा ४.६७ प्रतिशतले घट्यो पुँजीगत लाभकर



काठमाडौं । साउन महिनामा पुँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ उठेको छ । जुन अघिल्लो साउनको तुलनामा ४.६७ प्रतिशतले कम हो । अघिल्लो आवको साउनमा राज्यले सेयर बजारबाट ४२ करोड ६ लाख ४३ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

सेयर लगानीकर्ताले आर्थिक वर्ष २०७९/०८० को साउनमा ४२ करोड ६ लाख ४३ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर राज्यलाई तिरेका थिए ।

गत साउनको तुलनामा यो साउनमा संस्थागत लगानीकर्ताबाट उठ्ने कर बढेको छ भने व्यक्तिगत अल्पकालीन र व्यक्तिगत दीर्घकालीन लगानीकर्ताबाट उठ्ने कर घटेको छ ।

आव २०७९/८० को साउनमा सरकारले व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट २५ करोड १३ लाख १२ हजार ७३८ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । चालु आवको सोही अवधिमा यस्तो घर घटेर २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ छ ।

यस्तै दीर्घकालीन लगानीकर्ताबाट गत आवको साउन मसान्तसम्म राज्यले १४ करोड ७२ लाख ७७ हजार ६७ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । चालु आवको साउन मसान्तसम्ममा १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ मात्रै पुँजीगत लाभकर संकलन गरेको छ ।

संस्थागत लगानीकर्ताले गत आवको साउन मसान्तसम्म राज्यलाई २ करोड २० लाख ५३ हजार ६५८ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । चालु आवको सोही अवधिमा संस्थागत लगानीकर्ताले ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

अहिले दीर्घकालीन कारोबारीले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेका छन् ।


रवि धिताल