मासु उत्पादनमा अनुदान, घाँसखेती गर्नेलाई प्रोत्साहन



तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन लागेको हो ।

खसीबोकापालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा खसीबोकापालन गर्ने कृषकको संख्या बढ्दै गएकाले प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘प्रतिकिलो १० रूपैयाँका दरले अनुदान वितरण गरिनेछ । त्यसका लागि २० लाख बजेट विनियोजन भएको छ,’ उनले भने । बाख्रापालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिनेछ । उनका अनुसार बाख्रापालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइनेछ ।

जिल्लाका व्यास नगरपालिका सहित ऋषिङ, देवघाट र घिरिङ गाउँपालिकामा बाख्रापालन गर्ने कृषकको संख्या बढी छ । त्यहाँका कृषकले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । उनले भने, ‘सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्दा तथ्यांक लिन सहज हुन्छ । यो कार्यक्रमले खसीबोकापालनमा कृषकको आकर्षण अझै बढ्ने विश्वास छ ।’

कार्यालयले यसै वर्षदेखि बाँझो जग्गामा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । त्यसका लागि १८ लाख ६० हजार बजेट विनियोजन भएको छ ।

पशुपालन गर्ने कृषकलाई जग्गा बाँझो नराखी घाँसखेतीमा लाग्न प्रोत्साहित गर्न यो कार्यक्रम ल्याइएको जनाइएको छ । कार्यालयले ६ सय २० रोपनी क्षेत्रफलमा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउनेछ । प्रतिरोपनी तीन हजारका दरले रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

कार्यालयले पशुपन्छी तथा मस्त्य व्यवसाय प्रवर्धन कार्यक्रमअन्तर्गत माछाका भुरा खरिद ढुवानी वितरणका लागि चार लाख, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ९० लाख, कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत चार लाख र कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडीबाच्छी हुर्काउन ७० लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत नियमित उपचार सेवाका लागि सात लाख, प्रयोगशाला सेवा सञ्चालनका लागि पाँच लाख, मत्स्य स्वास्थ्य घुम्ती शिविरका लागि एक लाख, आकस्मिक उपचार तथा रोग नियन्त्रण सेवा सञ्चालनका लागि ६ लाख र गाईभैंसीमा बाँझोपन निवारण घरदैलो शिविर सञ्चालनका लागि आठ लाख बजेट विनियोजन भएको केन्द्रले जनाएको छ ।

अस्पताल भवन बन्दै

केन्द्रको हाल सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । प्रदेश सरकारको सहयोगमा नमुना भेटेरिनरी अस्पताल निर्माण सुरु गरिएको हो । भवन १० करोड रुपैयाँ लागतमा निर्माण हुनेछ ।

भवन निर्माणका लागि चालु आवमा दुई करोड ७० लाख बजेट विनियोजन भएको छ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमुना अस्पताल निर्माण भइरहेको केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिए । ‘विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवा प्रदान गरिनेछ,’ उनले भने ।

६ सय पाँच वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । ‘पशुपन्छीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गर्छौं,’ उनले भने, ‘अस्पताल भवन निर्माण सम्पन्नसँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउनेछन् ।’

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्स-रे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोस्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ ।

‘अहिले पनि पशुपन्छीको उपचार भइरहेको छ तर यो अस्पताल बनेपछि विशिष्ट सेवा प्रदान हुनेछ,’  उनले भने । तनहुँमा पशुपालन गर्ने कृषकको संख्या बढ्दै गए पनि सुविधासम्पन्न अस्पताल थिएन ।


रवि धिताल