पाँच सय किलो पटकासहित एक पक्राउ



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विस्फोटक पदार्थ आयात गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका घर भई हाल ललितपुर महानगरपालिका सानेपा बस्ने २८ वर्षीय जीतेन्द्रकुमार जैसवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार ललितपुरमा केही व्यक्तिले गैरकानुनी रूपमा भारतबाट पटका, भुइँचम्पालगायतका आतसबाजीजन्य विस्फोटक पदार्थ आयात गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका जैसवालले भाडामा लिई गोदाम बनाएर राखेको कोठाबाट प्रहरीले ३१ वटा बोरामा रहेका रकेट बम, किङ कोब्रा, फायर यर्कस, सिभाकासीसमेत लेखिएको ५ सय किलोभन्दा बढी विभिन्न किसिमका आतसबाजी/पटका बरामद गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

जैसवाललाई पक्राउ गरी विस्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।


रवि धिताल