मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु



सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० मा पर्ने मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङ्तानकी ४ वर्षीया छोरी प्रमिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाएर मृत्यु भएको भनी स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको जनाइएको छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


रवि धिताल