ग्लोबल आइएमई बैंक: मर्जरले ठूलो र बलियो बन्दै



काठमाडौं । २०७९ पुस २५ गते बैंक अफ काठमाडौंसँग एकीकृत कारोबार सुरु गर्दा ग्लोबल आईएमई बैंकमा गाभिएका संस्थाको संख्या २१ पुगिसकेको छ ।

सन् २००७ मा स्थापित भएको ग्लोबल बैंक वाणिज्य बैंकदेखि वित्त कम्पनी र विकास बैंकसम्मलाई गाभेर नेपालको वित्तीय क्षेत्रमा मर्जरको अनुपम उदाहरण पेस गर्दै गर्दा बैंकमा कर्मचारीको संख्या बढेर ४ हजार नाघिसकेको छ ।

ग्लोबल बैंकले पहिलो पटक २०६९ असार २५ मा ‘ग’ वर्गको आइएमई फाइनान्सिएल इस्टिच्युसनलाई गाभ्दै बैंकको नाम ग्लोबल आईएमई राखेको थियो । त्यसयता ग्लोबलले २० वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जानकारी दिए ।

‘नेपालको वित्तीय संस्था मर्जरको दुनियाँमा हामी अब्बल छौं भन्ने लाग्छ,’ उनले भने, ‘अहिले ग्लोबल आईएमई बैंकले आफूलाई सबैभन्दा ठूलो बैंकको रुपमा मात्र नभएर अब्बल बैंकको रुपमा समेत उभ्याउँदै लगेको छ ।’

फरक-फरक २१ बैंक तथा वित्तीय संस्थाबाट जोडिन आएका कर्मचारीलाई एउटै बाटोमा हिँडाउनु सहज विषय  नभएको उनको भनाइ छ । ‘तर मर्जरको कुशल व्यवस्थापन गर्दै ग्लोबल आईएमई बैंक तिनै कर्मचारीबाट उच्च नतिजा पस्किन सफल भएको छ,’ रेग्मीले भने ।

गत वर्ष ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७९र८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो ।

ग्लोबल आइएमई बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको रेग्मीले जानकारी दिए । ‘मर्जरपछि अधिकांश बैंकहरुले नकारात्मक प्रदर्शन गर्दा ग्लोबल आईएमई बैंकको सञ्चालक समिति र व्यवस्थापनले सहज रुपमा मर्जरलाई व्यवस्थापन गरेको छ,’ उनले भने, ‘अहिले हामी अधिकांश वित्तीय सूचकमा प्रतिस्पर्धी बैंकहरुभन्दा राम्रो स्थितिमा छौं ।’

मर्जरपछि बैंकले बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत बेग्लै विश्वास आर्जन गरेको बैंक व्यवस्थापनको दाबी छ । ‘स्वदेशमा पनि लगानीकर्ता र सेवाग्राहीको विश्वास बढेको छ,’ रेग्मीले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सञ्चालक समितिका अध्यक्ष रहेको बैंकले ‘सबैका लागि बैंक’ भन्ने नारालाई आत्मसात गरेको बताएको छ ।

मर्जरको मुख्य उद्देश्य व्यवसाय वृद्धि हो । ढकालले जुन सोच लिएर ग्लोबल आईएमईलाई एकपछि अर्को संस्थामा मर्ज गर्दै लगे त्यसले बैंकलाई सफलताको बाटोतर्फ उन्मुख गराएको कतिपयको टिप्पणी छ ।

बैंकलाई अहिले अन्तर्राष्ट्रियस्तरमा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएमएफ) जस्ता संस्थाले हेर्ने दृष्टिकोण पनि बदलिएको प्रवक्तासमेत रहेका रेग्मी बताउँछन् । ‘उनीहरुले नेपालको एक बलियो र विश्वासिलो बैंक भनेर चिन्न थालेका छन्,’ उनले भने, ‘यसैकारण पनि हामी इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग सहकार्य गरिरहेका छौं ।’

ग्लोबल आइएमई बैंक कुल पुँजी तथा पुँजीकोषको आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । हाल यस बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आउँदा नाफा बढेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५२.४९ प्रतिशतले बढेर १० अर्ब ३६ करोड ८८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ छ ।

बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख ९७ हजार रुपैयाँ छ । ४ खर्ब ३९ अर्ब ३४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६९ अर्ब ८८ करोड ९० लाख कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधैं अग्रस्थानमा रहेको रेग्मीले दाबी गरे ।

बैंक व्यवस्थापनका अनुसार ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वित्तीय संस्था हो । बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन् ।

मुलुकभित्र मात्र नभई मुलुकबाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकका बेलायतको लन्डन, भारतको नयाँ दिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालय छन् । बैंकले ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।


रवि धिताल