नेप्से २१ अंकले घट्यो, कारोबार रकममा पनि लगातार गिरावट



काठमडौं । सेयर बजार परिसूचक नेप्से २१ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह घटेपछि समग्र बजार परिसूचक २१.९१ अंकले घटेर २०११.२२ अंकमा झरेको हो ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार १ अर्ब ४४ करोडको सेयर कारोबार भएको छ । यो रकम गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारभन्दा ७ करोडले कम हो । बिहीबार १ अर्ब ५१ करोडको सेयर कारोबार भएको थियो ।

मंगलबार २ अर्ब ९ करोडको कारोबार भएको बजारमा बुधबार पनि १ अर्ब ६५ करोडको मात्र कारोबार भएको थियो । कारोबार घटे पनि बिहीबार सेयर बजार ८ अंकले बढेको थियो ।

घटेको बजारमा २९ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १९० कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन । सबैभन्दा धेरै अप्पर स्याङ्गेको सेयर मूल्य ९ प्रतिशतले घटेको छ ।


रवि धिताल