चिपसहितको ‘ई–पासपोर्ट’ ल्याउँदै भारत



एजेन्सी । भारत सरकारले देशका नागरिकहरुलाई पहिलो पटक चीपसहितको ‘ई–पासपोर्ट’ वितरण गर्ने भएको छ ।चिपसहितको हुने पासपोर्टका लागि आवश्यक सबै प्राविधिक परीक्षणहर सकिएको र आगामी दुई महिनाभित्रमा यसलाई वितरण गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको नासिकस्थित इण्डियन सेक्युरिटी प्रेसले आगामी वर्ष अर्थात २०२३ का लागि ७० लाख वटा ई–पासपोर्ट छापिरहेको छ । त्यस्तै, यहि प्रेसलाई ४.५ करोड चिपसहितको ई–पासपोर्ट छाप्नेको अर्डर पनि दिइएको छ ।

भारत सरकराले ल्याउन लागेको यो चीपसहितको यो ई–पासपोर्टमा विभिन्न ४१ किसिमका विशेष फिचरहरु हुनेछन् । यो पासपोर्टमार्फत इन्टरनेसनल सिविल एभिएशन अर्गनाइजेसन (आईसिएओ)को मान्यता पाएका १४० देशका विमानस्थलहरुमा सहजै अध्यागमनको प्रक्रिया पनि पूरा गर्न सकिनेछ । अहिलेकै पासपोर्टकै स्वरुपमा हुने नयाँ चीपसहितको ई–पासपोर्टको एक पानामा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिप र अन्त्यमा सानो फोल्ड गर्न मिल्ने एन्टेना पनि हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पासपोर्टमा हुने यो चिपमा व्यक्तिको बायोमेट्रिक जानकारीहरु राखिएका हुने बताइएको छ ।

हाल भारत सरकारले पासपोर्ट सर्विस प्रोग्राम २.० (पिएसपी) नामको योजनामार्फत यसमा काम गरिरहेको छ । चीपसहितको पासपोर्ट लिनका लागि केन्द्रमा भिडभाड नहोस भनेर योजनालाई चरणबद्ध रुपमा अघि लगिएको छ ।

भारतको विदेश मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार चीपसहितको पासपोर्टमा व्यक्तिको सम्पूर्ण जानकारी हुने भएकाले नक्कली पासपोर्टको प्रयोग गर्ने वा अरु कसैको पासपोर्टको जानकारीमा आफ्नो तस्बिर राखेर यात्रा गर्नेलगायतका अपराधहरु नियन्त्रणमा आउनेछन् ।


क्लिकमान्डु