पहिरोले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध



फाइल तस्बिर

लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार सो सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर र मर्स्याङ्दी गाउँपालिका वडा नं ४ मा तीन ठाउँमा पहिरो गएको छ ।

सो स्थानमा ठूल्ठूला ढुंगासहितको पहिराले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका-१ तालडाँडामा पहिराले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै ६ दिन अघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक-पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ ।

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुले बताएका छन् । पैसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ ।


रवि धिताल