साढे ४ गुणाले बढ्यो वैदेशिक लगानी, साउनमा १२ अर्ब स्वीकृत



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक लगानी वृद्धि भएको छ । गत वर्ष साउनको तुलनामा साढे ४ गुणा बढी वैदेशिक लगानी स्वीकृत भएको हो ।

साउनमा उद्योग विभागमार्फत १२ अर्बको वैदेशिक लगानी स्वीकृत भएको छ । अघिल्लो वर्षको साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो ।

विभागका अनुसार साउनमा ६० वटा उद्योगमा ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । जसमध्ये ५४ साना उद्योग, ४ वटा मध्यम किसिमका र २ वटा ठूला उद्योग छन् ।

वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये उत्पादनतर्फका ४, सूचना प्रविधि (आईसिटी)तर्फको १, पर्यटनतर्फका २८, सेवामूलक (सर्भिस) तर्फका २६ र कृषितर्फका एउटा छन् ।

अघिल्लो महिना अर्थात् असारमा ३ अर्ब ७१ करोड १५ लाख ५० हजार रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको थियो । कुल ५४ उद्योगमार्फत यो लगानी स्वीकृत भएको थियो, जसमध्ये ५२ वटा साना र २ वटा मझौला किसिमका उद्योग थिए ।

अघिल्लो आव अर्थात् २०७९/८० मा वर्षभरि कुल ३८ अर्ब ४६ करोड ९ लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको थियो ।


क्लिकमान्डु