रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाघ्यो



काठमाडौं । गत वर्ष रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाघेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।


रवि धिताल