नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियोबीच उद्यमशीलता क्षेत्रमा काम गर्न समझदारी



काठमाडौं । नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशील क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडियाका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरे ।

दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रवर्धनका क्षेत्रमा सहकार्य हुने जनाइएको छ । परिसंघ सचिवालयमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रवर्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।

‘ब्रेन ड्रेन’ रोक्न तथा उद्यमीका लागि उचित वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवालाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास अग्रवालले व्यक्त गरे ।

परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै उनले दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नवीनतम् काम हुने बताए ।

आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रमा नयाँ सम्भावना खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे । देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघसँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामूहिक रुपमा नयाँ काम हुने बताए । कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आइडिया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी थिए ।


रवि धिताल