सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर गए राति जंगली हात्तीको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।
‘राति १२ बजेपछि जंगली हात्ती सेफ्टी ट्यांकीमा परेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’
जंगली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको अनुमान गरे । ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गर्छौं ।’