तस्करीको १०० किलो सुन सरकारले ६१ किलोमा झार्यो: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको एक क्विन्टल बढी सुन सरकारले ६१ किलोमा झारेको आरोप लगाएका छन् ।
नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा ओलीले आफूहरुले उच्च स्तरिय छानबिन समिति बनाउन माग गरिरहेको भए पनि सरकारले नमानेको बताउँदै १ क्विन्टल बढी सुन ६१ किलोमा झारेको आरोप लगाए ।
‘एयरपोर्टबाट १ सय किलोभन्दा धेरै सुन समातेको थियो । अहिले त्यो ६१ किलोमा झरेछ’ओलीले भने,’हामीले उच्च स्तरीय छानबिन समिति बनाऔंभन्दा गठबन्धन सरकारले वेवास्ता गर्यो ।’
गत साउन पहिलो हंकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागको विशेष टोलीले नियन्त्रणमा लिइएको थियो । उक्त सुनको परिमाण १ सय किलो भन्दा बढी रहेको बताइएको थियो । तर नेपाल राष्ट्र बैंकको टक्सार महाशाले मंगलबार गालेर तौल गर्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको पुष्टि भएको थियो ।
ओलीले ताला लगाएको कोठाबाट विद्युतीय चुरोटमा लुकाएर ल्याइएको ९ किलो सुन हराएको भन्दै सरकारको आलोचना गरे । विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल संलग्न भएको भन्दै प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । तर सरकारले भने महरालाई छानबिनको दायरामा नल्याएपछि ओलीले आक्रोश व्यक्त गरेका हुन् ।
विमानस्थलबाट किलोका किलो सुन तस्करी भइरहेको भएपनि त्यसको लगानीकर्ता को हो भनेर पत्ता नलागेकाले आफूहरुले उच्चस्तरीय आयोग गठन गरौं भनिरहेको उनको भनाइ छ । ‘हामीले आयोग बनाउँ भन्दा प्रधानमन्त्रीजीले ३५ दिनको समय माग्नु भयो’ ओलीले भने ।
ओलीले सुनतिर तरलता भएकाले बैंकमा तरलता अभाव भएको उनको तर्क छ ।