वर्ल्डलिंकको १३ हजार ३९२ कित्ता सेयर बिक्री गर्दा अग्रवालले करिब सवा करोड पुँजीगत लाभकर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले सेयर बिक्री गर्दा राज्यले १ करोड २४ लाख ८८ हजार ४० रुपैयाँ कर पाएको छ ।
वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले आफ्नो नाममा रहेको १३ हजार ३९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले बिक्री गरेका छ ।
उनले उक्त सेयर अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीलाई १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका हुन् । १२ करोड ५५ लाख ५० हजारमा सेयर बिक्री गदौ १ करोड २४ लाख ८८ हजार ४० रुपैयाँ कर तिर्नुपर्छ ।
आयकर ऐन २०५८ को अनुसुचि-१ मा प्राकृतिक व्यक्तिको गैर व्यवसायीक सम्पत्तिको आर्जनमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ । आयकर ऐनको अनुसुचि मा नै करको दर १० प्रतिशत तोकिएकाले अग्रवालले ओटिसी बजार मार्फत सेयर बिक्री गर्दा आफुले गरेको आम्दानीमा १० प्रतिशत अन्तिम कर तिर्नुपर्ने छ ।
उक्त सेयरको बिक्री गर्दा अग्रवाललाई १२ करोड ४८ लाख ८० हजार ४०० रुपैयाँ खुद नाफा भएको छ ।
नेप्सेका अनुसार अग्रवालले साउन पहिलो साता उक्त सेयर ओटीसी (ओभर दि काउन्टर) बजारबाट बिक्री गरेका हुन् ।