विदेश जानेवित्तिकै सबै प्राप्त हुन्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेवित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताएका छन् ।

राष्ट्र निर्माण नेपाल मञ्चले आयोजना गरेको ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियानमा उनले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताए । ‘तर उद्यमशीलताप्रति मोटिभेसन गर्ने कुरा एकदमै जटिल छ,’ उनले भने ।

अहिले बाहिर जाने ट्रेन्ट चलेको, साथीभाइ गए, काकामामाका छोराछोरी गए, म गइन भने त मेरो स्टाटस नै तल जान्छ भन्ने मानसिकता बढेको अर्थमन्त्री महतले बताए ।

‘तर त्यसो होइन, म पनि ६-७ वर्ष विदेश बसेर आएको मान्छे हुँ, त्यहाँ पनि समस्या धेरै छन्,’ उनले भने, ‘विदेश जाने युवालाई अनुरोध छ, पूर्ण छात्रवृत्ति छैन भने धेरै गाह्रो छ तर छ र सकिन्छ भने पढ्न जाऔं।’

युवा गएको र जान चाहेको देशमा भन्दा यहीँ ठूलो अवसर रहेको महतले बताए । ‘ती देश स्याचुरेटेड भइसके, त्यसैले यहीँ गरौं, त्यहाँ जीवन त चल्ला तर उपलब्धि हुँदैन,’ उनले भने ।

अहिले नकारात्मक कुरा बढी प्रवाह भइरहेकाले सकारात्मक कुरामा छलफल चलाउनुपर्ने महतले बताए । यसले मात्र देशलाई सही दिशामा लैजाने उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति कसरी आशावादी बनाउन सकिन्छ भनेर सोच्नुपर्ने बताए । ‘करिब ९ लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरुलाई रोक्न सकिन्छ भन्ने अहं प्रश्न हो,’ उनले भने, ‘तर उद्यमशीलता भनेको व्यक्तिमा निहित गुण हो ।’

हालै १० प्लस २ पास गरेका युवालाई सीप र दक्षतासँग जोड्न सके युवा बाहिरिने क्रम रोकिनसक्ने भन्दै उनले अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।

‘उद्यमशील युवा सिर्जनशील युवा’ सम्मेलनमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवालाई बैंकले उच्च प्रथमिकतामा राखेर कार्यक्रम सञ्चाल गरिरहेको बताए ।

‘हाम्रो बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएका छौं,’ उनले भने ।
बिनाधितो लगानी गर्दा दुरुपयोग भएको र उद्यमी पलायन हुनेजस्ता चुनौती देखिएको जानकारी गराए । यसबाट सरकार र बैंकले सोचेजस्तो परिणाम नआएको आफूहरुले पाएको उनको भनाइ छ । नगरपालिका, गाउँपालिका तथा विभिन्न खालका युवा संस्थासँग सहकार्य गरेर काम गरिरहेको उनले बताए ।

आयोजक राष्ट्र निर्माण नेपाल मञ्चका संयोजक भुपेन्द्रजंग शाहीले युवालाई उद्यम, रोजगार र सिर्जनशीलतासँग जोडेर मात्र देशको विकास हुने बताए । ‘युवालाई कसरी उद्यमशील बनाउने भन्नेमा सिंगो सरकार र देशको ध्यान जानुपर्छ,’ उनले भने ।


क्लिकमान्डु