चारतारे होटल र दुई रेसिडेन्सियल अपार्टमेन्ट बनाइरहेको समिट होटलले तीन अर्ब ऋण लिँदै
काठमाडौं । ललितपुरमा लक्जरी होटल र अपार्टमेन्टको निर्माण गरिरहेको समिट होटल प्रालिले ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ ।
समिट होटल प्रालिले तीन अर्ब कर्जाका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीले समिटलाई प्रस्ताविक दीर्घकालीन कर्जा सुविधाका रुपमा ३ अर्ब रुपैयाँको रेटिङ दिएको छ । यसअघि नै कम्पनीलाई अल्पकालीन कर्जा सुविधाका रुपमा ७० करोडको रेटिङ दिएको थियो ।
समिट होटल प्रालिले कुपन्डोल हाइटमा चारतारे होटल निर्माण गरिरहेको छ । हाल कम्पनीले सो क्षेत्रमा रहेका पुराना भवनहरुलाई हटाएर होटलको भवन बनाउन र दुई रेसिडेन्सियल अपार्टमेन्ट बनाउन तयारी गरिरहेको छ ।
जायन इन्फ्रा बिल्डर्स प्रालि र चोधरी ग्रुपको स्वामित्व रहेको समिट होटल प्रालिले ११६ युनिटको अपार्टमेन्ट बनाइरहेको छ, जसमा २४ लक्जरी र ९२ स्टेन्डर्ड किसिमका अपार्टमेन्ट छन् । अपार्टमेन्टका युनिटहरुको बिक्री गरेर होटल कम्प्लेक्सको निर्माणका लागि आवश्यक लगानी जुटाउने तयारीमा कम्पनी रहेको छ ।