अर्थतन्त्रलाई सहयोग गर्न चीनले ब्याजदर घटायो, महँगी रोक्न रुसले ह्वात्तै बढायो



काठमाडौं । विश्वभरकै दुई ठूला अर्थतन्त्रहरुले आ-आफ्नो देशमा अर्थतन्त्रलाई प्रभाव पार्ने गरि नयाँ नीति लिएका छन् । रुस र चीनले आ-आफ्नो देशको ब्याजदरलाई परिवर्तन गरेका छन् ।

चीनको केन्द्रिय बैंकले आफ्नो नीतिगत दर ०.१५ प्रतिशत विन्दूले घटाएको छ भने रुसको केन्द्रिय बैंकले ३.५ प्रतिशत विन्दूले ब्याजदर बढाएको छ ।

चीनको केन्द्रिय बैंक पिपुल्स बैंक अफ चाइनाले अर्थतन्त्रलाई सहयोग गर्न भन्दै नीतिगत दर घटाएको हो । यसअघि २.६५ प्रतिशत रहेको नीतिगत दर अगष्ट १५ (आज) देखि लागू हुनेगरी २.५० प्रतिशतमा झारेको छ ।

चीनको केन्द्रिय बैंकले तीन महिनाको अन्तरालमा नै दोस्रो पटक नीतिगत दर घटाएको हो । आर्थिक सुधारलाई तीव्ररुपमा बढाउनका लागि मौद्रिक सहजताका उपायहरु चीनमा अपनाउन थालिएको रोयटर्सले जनाएको छ ।

विश्लेषकहरुका अनुसार चीनमा चालिएको यो कदमले चीनले विभिन्न देशलाई दिएको कर्जाअन्तर्गतको सिमाको ‘लोन प्राइम रेट (एलपिआर)मा सम्भावित कटौती गर्ने जनाएका छन् । चीनको अर्थतन्त्र विश्वकै दोस्रो ठूलो हो । जसकारण चीनमा हुने ब्याजदर घटबढले संसारको अर्थतन्त्रमा प्रभाव पार्छ ।

उता रुसको केन्द्रिय बैंकले भने ह्वात्तै ब्याजदर बढाएको छ । एकैपटक ३.५ प्रतिशत विन्दूले ब्याजदर बढाएर ८.५ प्रतिशत रहेको नीतिगत दरलाई १२ प्रतिशत पुर्याएको छ ।

‘मूल्यबृद्धिको दबाब सिर्जना भइरहेको छ,’ रुसको केन्द्रिय बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘७ अगस्टकाअनुसार मूल्यबृद्धिको वार्षिक दर बढेर ४.४ प्रतिशत पुगेको छ । अरु सुचकहरु पनि निरन्तर बढिरहेका छन् ।’

रुसको केन्द्रिय बैंकको सञ्चालक समितिको बैठक आगामी सेप्टेम्बर १५ मा बस्ने र उक्त बैठकले नयाँ दरको विषयमा समीक्षा गर्ने विज्ञप्तीमा जनाइएको छ ।

यो वर्षमा चीनको मुद्रा युआन अमेरिकी डलरसँग ५ प्रतिशत अबमूल्यन भएको छ । एसियाकै सबैभन्दा कमजोर रुपमा प्रस्तुत भएको मुद्राका रुपमा युआन रहेको छ ।

अर्कातिर, रुसको आधिकारिक मुद्रा रुबेल पनि अमेरिकी डलरसाग अबमूल्यन भएको छ । डलरसँग रुवेल अबमूल्यन भएपछि बढ्नसक्ने संभावित महंगीलाई नियन्त्रण गर्न रुसले ब्याजदर बढाएको हो ।

पछिल्लो ६ महिनादेखि भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डियाको नीतिगत दर स्थिर छ । सन् २०२३ को जनवरीमा ६.२५ प्रतिशत रहेको नीतिगत दर ०.२५ प्रतिशत विन्दूले बढाएर फेब्रुअरीमा ६.२५ प्रतिशत पुर्याएको थियो । अहिले पनि उक्त दर यथावत नै छ । भारतको अर्थतन्त्र विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हो ।

त्यसैगरी, पछिल्ला दुई वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले पछिल्लो एक वर्षमा ११ पटक नीतिगत दर बढाएर ५.५० प्रतिशत पुर्याएको छ ।

चर्को ब्याजदरका कारण अर्थतन्त्रमा समस्या नपरोस् भनेर नेपाल राष्ट्र बैंकले पनि ७ प्रतिशत रहेको नीतिगत दरलाई साउन पहिलो साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ०.५ प्रतिशत विन्दूले घटाएर ६.५ प्रतिशतमा झारेको छ।

यसरी संसारभरका केन्द्रिय बैंकले नीतिगत दर घटाउँदा उक्त देशको समग्र ब्याजदर घट्छ भने बढाउँदा समग्र ब्याजदर बढ्छ। नीतिगत दर भनेको बैंकहरुले केन्द्रिय बैंकसँग कारोबार गर्दा तिर्ने दर हो ।


क्लिकमान्डु