धावनमार्गमा एयर इन्डियाको विमान रोकिँदा त्रिभुवन विमानस्थल १ घण्टा बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएपछि त्रिभुवन विमानस्थल १ घण्टा बन्द भएको छ ।

धावनमार्गमा एयर इन्डियाको विमान रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ बजेर ५ मिनेटदेखि ५ बजेर १ मिनेटसम्म बन्द भएको हो ।

मंगलबार अपराह्न उड्न लागेको जहाजको ब्रेकमा समस्या देखिएपछि विमान रन वेमै अलपत्र परेको थियो । जहाजमा १७९ जना यात्रु थिए ।

एयर इन्डियाको २१६ जहाज दायाँ चक्का जाम भएर रन वेमै अलपत्र परेको हो । रनवेमा पुगेपछि जहाज घुम्न सकेको थिएन । रन वेमै जहाज अलपत्र परेपछि श्री एयरलाइन्सको २२४ जहाज भैरहवा डाइभर्ड गरिएको थियो भने बाँकी विमान आकाशमै होल्ड भएका थिए ।

विमानको प्राविधिक परीक्षणपछि मात्र उडाउने-नउडाउने टुंगो लाग्ने विमानस्थल प्रशासनले जनाएको छ ।

अहिले विमानलाई पार्किङ स्थलमा ल्याइसकिएको छ । जहाज हटाएपछि विमानस्थल पुन: सञ्चालनमा आएको छ ।


रवि धिताल