५५ लाख ५४ हजार करदातामध्ये १०० वटाले तिर्छन् साढे ५२ प्रतिशत कर



काठमाडौं । गत अर्थिक वर्षमा कूल करदातामध्ये १ सय करदाताले ५२ प्रतिशत बढी कर तिरेका छन् । नेपालमा ५५ लाख ५४ हजार करदाता रहेका छन् । जसमध्ये १०० करदाताले मात्र आधाभन्दा बढी कर तिरेका हुन् ।

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा संकलन गरेको करदाता संख्या र राजस्व संकलनको संरचना विश्लेषणमा १०० करदाताले २ खर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ अर्थात् कुल संकलित करको ५२.४६ प्रतिशत कर तिरेका छन् । आन्तरिक राजस्व विभागले गत वर्ष ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ७६.५१ प्रतिशत अर्थात ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागका अनुसार गतवर्ष २९ सय ९१ करदाताले ३ खर्ब ७४ अर्ब ९३ करोड रुपैयाँ कर तिरेका छन् । जुन असुली भएको करमको ७८. १४ प्रतिशत हो ।

विभागका अनुसार गत आर्थिक वर्ष १० करदाताले मात्र १ खर्ब ८ अर्ब ३० करोड कर तिरेका छन् जुन असुली भएको करको २२.५७ प्रतिशत हो ।

त्यस्तै ५० करदाताले २ खर्ब १२ अर्ब ५६ करोड अर्थात ४४.३० प्रतिशत, ५ सय करदाताले ३ खर्ब १९ अर्ब ९४ करोड अर्थात ६६. ६८ प्रतिशत, १ हजार करदाताले ३ खर्ब ४२ अर्ब १८ करोड अर्थात ७१. ३२ प्रतिशत, २ हजार करदाताले ३ खर्ब ६२ अर्ब ८२ करोड अर्थात ७५. ६२ प्रतिशत कर तिरेका छन् ।

आन्तरिक राजस्व विभागले गतवर्ष १ करोड रुपैयाँभन्दा बढी कर दाखिला गर्ने २९ सय ९१ करदाताको राजस्व संकलनको संरचनागत विश्लेषण गरेको हो । माथि उल्लेखित १० देखि २ हजार करदाताले तिरेको करसहित २९ सय ९१ करदाताले ३ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ दाखिला गरेका हुन् ।

चालु आर्थिक वर्ष विभागले ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न गत वर्ष संकलन भएको राजस्वको ४१ प्रतिशत बढी र गत वर्षको लक्ष्यको ७ प्रतिशत बढी राजस्व संकलन हुनुपर्छ ।


क्लिकमान्डु