गतवर्ष आन्तरिक राजस्व विभागले गर्‍‍यो ५ हजार २६६ करदाताको फुल अडिट



काठमाडौं । आन्तरिक राजस्व विभागले गतवर्ष ५ हजार २६६ करदाताको पूर्णकर परीक्षण (फुल अडिट) गरेको छ ।
आयकर ऐन २०५८ अनुसार करदाताले आफ्नो आय स्वघोषणा गर्दै कर तिर्नु पर्छ ।

करदाताले बुझाएको विवरण ठिक भए/नभएको एकिन गर्न विभागले २ प्रतिशत करदाता छनोट गर्दै पूर्णकर परीक्षण गर्नु पर्ने कानुनी व्यवस्था छ ।

विभागका उपमहानिर्देशक अर्जनु भट्टराईले नियमित पूर्णकर परीक्षण गर्नु पर्ने कानूनी व्यवस्था अनुसार विभागले छनोट गरेका करदाताको कार्यालयले पूर्णकर परीक्षण गरेको जानकारी दिए । हाल ५५ लाख ५४ हजार करदाता विभागमा दर्ता छन् ।

त्यसमध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदताको संख्या ३६ लाख र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदताको संख्या १८ लाख रहेको छ । तर, विभागले २ प्रतिशत करदाताको पूर्णकर परीक्षण गर्न सकेका छैन ।

विभागले प्रत्येक आर्थिक वर्षको मंसिर मसान्तसम्म पूर्ण करपरीक्षण गर्नु पर्ने करदाता छनोट गर्दै कार्यालयमा अनुसन्धानका लागि पठाउने गर्छ ।

गत वर्ष विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्ष विभागले ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न गत वर्ष संकलन भएको राजस्वको ४१ प्रतिशत बढी र गत वर्षको लक्ष्यको ७ प्रतिशत बढी राजस्व संकलन हुनुपर्छ ।

कर प्रशासन सुधार गर्दै राजस्व असुली बढाउन विभागले काम गरिरहेको भट्टराईले बताए ।

‘गत वर्ष मदिरामा संकलन हुने राजस्व, मूल्य अभिवृद्धी कर, अन्त:शुल्क र आयकर लक्ष्यअनुसार संकलन नहुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो,’ भट्टराईले भने,‘हामीले कर प्रशासनमा आन्तरिक सुधारका काम अगाडि बढाएका छौं । त्यसले परिणाम दिने अपेक्षा छ ।’


क्लिकमान्डु