व्यवसायीसँग प्रधानमन्त्रीले भने- तपाईंहरुको कन्फिडेन्स बढाएर अर्थतन्त्र चलायमान बनाउँछौं



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार अर्थतन्त्र चलायमान बनाउन प्रतिवद्ध रहेको बताएका छन् । सोमबार दिउँसो उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दाहालले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘तपाईंहरुका माग मैले सुनेँ, मैले टिपेर पनि राखेको छु, निजी क्षेत्र, सरकार राष्ट्र, बैंक सबै मिलेर अर्थतन्त्र चलायमान बनाउनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै छलफलमा सहभागी एक व्यवसायीले भने, ‘बजारमा कन्फिडेन्सको कमी भयो, त्यो बढाउनुपर्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो ।’

निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा बसेर समस्या समाधान गर्ने प्रधानमन्त्रीको भनाइ थियो। अर्थतन्त्र चलायमान बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।

छलफलमा सहभागी निजी क्षेत्रका तीनवटै छाता संगठनका अध्याक्ष चन्द्र ढकाल (एफएनसीसीआई), राजेश अग्रवाल (सीएनआई), राजेन्द्र मल्ल (चेम्बर) सहभागी थिए । उनीहरुले सरकारले ल्याएको बजेट र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा धेरै राम्रा कुराहरु भए पनि विद्यमान संकुचनमा परेको अर्थतन्त्र चलायमान बनाउने खालको नभएको गुनासो गरेका थिए । अर्थतन्त्र चलायमान नबन्दा सरकारको राजस्व असूली पनि लक्ष्यभन्दा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
व्यवसायीका प्रतिनिधिको चासो चालु पुँनी कर्जासम्बन्धी मागदर्शन र ब्याजदरका सम्बन्धमा सबैभन्दा बढी थियो ।

छलफलमा मुख्यसचिव बैकुण्ठ अर्याल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु उपस्थित थिए ।

‘गभर्नरसाब पनि यहीँ हुनुहुन्छ, उहाँले पनि तपाईंहरुका समस्या टिपिरहनु भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी छलफल गरेर तपाईंहरुका समस्या समाधान गर्छौं । अर्थतन्त्र चलायमान बनाउनुको विकल्प छैन ।’

आइतबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि निजी क्षेत्रका प्रतिनिधि र बैंकरहरुसँग छुट्टाछुट्टै छलफल गरी अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । अर्थमन्त्रीले भेटेकै भोलिपल्ट प्रधानमन्त्रीले भेटेर उही अभिव्यक्ति दिनुलाई कतिपय व्यवसायीहरुले सरकारले आफूहरुलाई फकाउन खोजेको रुपमा बुझेका छन् ।


क्लिकमान्डु