नेप्से ३ अंकले घट्दा ६८ कम्पनीका लगानीकर्ताले कमाए, थ्रीस्टार र अप्पर स्याङ्गेमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ३ अंकले घटेको छ । तीन कारोबार दिन लगातार बढेको नेप्से आज सामान्य घटेको हो ।

नेप्से बुधबार ४१.०६, बिहीबार ५.१३ र आइतबार १४.८१ अंकले बढेको थियो । बैंक, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र म्युचुल फन्डबाहेकका सबै उपसमूह घटेपछि समग्र बजार परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ अंकमा झरेको छ ।

बजार घट्दा ६८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले र अप्पर स्याङ्गे हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । सीवाइसी नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त र इमर्जिङ नेपाल सबैभन्दा धेरै बढ्ने कम्पनीको सूचीमा अगाडि छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालय ऊर्जा विकास, शुभम पावर र अप्पर तामाकोशीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । आज २ अर्ब ९ करोडको सेयर कारोबार भएको छ ।


रवि धिताल